Logo

मधेशका चार जिल्लाका नाका तीन दिन बन्द

भङ्गहा–जनकपुर–जयनगर रेल पनि नचल्ने



काठमाण्डौ, ५ जेठ । भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्लाका सीमानाका गएराति १२ बजेदेखि तीन दिनका लागि बन्द भएका छन् ।

भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको चुनावका लागि सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द भएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । पर्सि सोमवार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले गएराति १२ बजेदेखि पर्सि सोमवार राति १२ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहनेछन् ।

यस्तै भारतको मधुवनीमा हुन लागेको चुनावलाई लक्षित गरी नेपालको एकमात्र रेलवे सेवा पनि आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार भङ्गाह–जनकपुरधाम–जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा तीन दिन बन्द गरिएको हो । रेल्वे सेवा मङ्गलवारदेखि नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्