Logo

त्रिविका सम्पत्ति खोजी गर्न छानबिन समिति गठन गर्ने सरकारको निर्णय



काठमाडौँ, १८ जेठ । सरकारले काठमाडौँ उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा, भवन तथा अन्य अचल सम्पत्तिको खोज अनुसन्धान गर्न पूर्व सचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विश्वविद्यालयको नाममा रहेको जग्गा, भवन लगायतका अचल सम्पत्तिहरूको लगत सङ्कलन, संरक्षण, उपयोग, व्यवस्थापन लगायतको अध्ययन गरी ठोस प्रतिवेदन दिन समिति गठन गरेको जानकारी दिनुभयो ।

समितिमा नेपाल सरकारका पूर्व सहसचिवहरू महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा। प्रेमसागर चापागाईँ सदस्य तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहनुहुने मन्त्री शर्माले बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रचलित कानून बमोजिम इजाजत पत्र प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहकले घरबाहिर लैजान नपाउने र यात्रा इजाजत प्राप्त हातहतियार समेत तोकिएका स्थानमा लैजान नपाउने गरी निषेध गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शर्माले दिनुभएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल र चीन सरकार बीच हुने भूकम्पीय अनुसन्धान सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र सो समझदारी पत्रमा हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको छ ।

यस्तै बैठकले सडक दस्तुर उठाउने कार्यविधि नियमावली २०८० स्वीकृत गर्ने, नेपाल दूर सञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी पहिलो संशोधन निर्देशिका २०८१ स्वीकृत गर्ने, सूचना प्रविधि तथा साइवर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गर्ने गरी सिमरा विशेष आर्थिक क्षेत्रको ब्लक ए विस्तारलाई विकास तथा सञ्चालन गर्न स्वीकृति दिने, राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतहरू मधुसुदन बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सचिव पदमा, हरिप्रसाद मैनालीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव पदमा र विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रक पदमा सरुवा गर्ने, सहसचिव तारादत्त भट्टलाई नेपाल प्रत्यायन केन्द्रको कार्यकारी निर्देशक पदमा कामकाज गर्न तोक्ने लगायतका निर्णयहरू गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्