Logo

गिरीबन्धु टि स्टेटको जग्गा राज्यको सम्पत्ति हैन : सञ्चालक छत्र गिरी



बिर्तामोड, ३० जेठ । झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टि स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति नभएको वताउनुभएको छ । झापाको बिर्तामोडमा बुधबार पत्रकार सम्मेलन गर्दै उहाले यदि राज्यलाई चाहिएको भए क्षतिपूर्ति दिएर अधिग्रहण गर्न सक्ने वताउनु भएको हो ।

सञ्चालक गिरीले सर्वोच्च अदालतबाट आदेश भएपछि गिरीबन्धुको नाममा चौतर्फी आलोचना भइरहेको र कतै राज्य कै जग्गा हो की ? भन्ने मानिसमा भ्रम परेको बताउनुभयो । उहाले त्यसरी प्रयोग भएको भाष्यप्रति आपत्ति प्रकट गर्नुभयो।

उहाले गिरीबन्धु टि स्टेटको जग्गा आफ्ना बाबु–बाजेले आर्जेको सम्पत्ति भएको र निजी कम्पनीको नाममा राखेकाले त्यो राज्यको हुन नसक्ने जिकिर गर्नुभयो।

२०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुनु अघि नै गिरीबन्धुले चिया खेती विस्तार गरेको वताउदै हदबन्दी छुटमा ५ सय विगाह जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विगाह जग्गा रहेको उहाले बताउनुुभयो ।

सञ्चालक गिरीले ती स्टेट शुरू हुँदा पूर्व पश्चिम राजमार्ग नभएको तर अहिले बिर्तामोड घना शहरको रुपमा विकास भएकाले शहरसँगै चिया बगान हुन नसक्ने दाबी गर्नुभयो ।

बगानसगै बाक्लो बस्ती भएकाले बलात्कार, लागूऔषध दुर्व्यसन, हत्या जस्ता आपराधिक घटना बढेको, चियाको गुणस्तर घटेको, चियामा प्रयोग हुने विषादीले बस्तीका मानिसलाई असार गरेकाले बगान अन्यत्र स्थानान्तरण गर्न चाहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्