Logo

झापामा बाढीले एक घर विस्थापित, ५० बिघामा लगाईएको मकैबाली नष्ट



झापा, ४ असार । लगातार वर्षाका कारण झापाको कचनकबल गाउँपालिका वडा नं. ५ खुट्टागंजको एक परिवार बिस्थापित भएको छ भने तीन परिवार जोखिममा परेका छन् ।

खुट्टागंज बस्ने कुञ्जी राजवंशीको परिवार पूर्ण रुपमा विस्थापित भई सोही वडाका वडा सदस्य प्रभा राजवंशीकोमा गएर बसेको प्रहरीले जनाएको छ । त्यस्तै श्रीमला देव राजवंशी , कार्तिक राजवंशी र संजय राजवंशीको परिवार जोखिममा परेका छन् ।

त्यस्तै अविरल वर्षाका कारण माईखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बाढीेले झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेतीलाई नष्ट गरेको जानकारी दिनुभयो ।

त्यस्तै, गए राति झापा –३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको दुई बिघा खेतको परालमा वर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको छ । उक्त आगलागी शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आलगीबाट करिब रु २० हजार बराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै अबिरल वर्षाका कारण चन्द्रगढी-बिर्तामोड सडकअन्तर्गत बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित हर्चनादेखि प्याकुरेल चोकसम्मको सडकखण्डमा  १० वटा बिजुलीको पोल ढलेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार वर्षाका कारण डुबान भएका क्षेत्रको तथ्याङ्क सङ्कलन भइरहेको छ । वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्