Logo

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय



काठमाडौं , ४ असार । चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ।

मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो।

गएको २०८० चैत १२ सर्वोच्चले दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो।

न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो । गत जेठ १४ मा सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई आदेश दिएको थियो ।

उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ को बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा गोविन्द केसीले भने अदालतको आदेशको न्यायिक पुनरावलोकनको माग राखेका छन् ।

कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने डा.गोविन्द केसीले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्