Logo

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालसँग सांसदहरूको प्रश्नोत्तर हुने



काठमाडौँ, ६ असार । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको हो । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

जस अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्