Logo

जलेश्वरका वडाध्यक्षद्धयले पाए प्रमुख र उपप्रमुखको जिम्मेवारी



जलेश्वर, ६ असार । भ्रष्टाचार आरोपमा प्रमुख र उपप्रमुख नै निलम्बनमा परेपछि जनप्रतिनिधि विहीन रहेको जलेश्वर नगरपालिकाले कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेको छ । नगरपालिकाले रवीन्द्र यादवलाई प्रमुख र रत्तन चौधरीलाई उपप्रमुखमा चयन गरेको हो ।

प्रमुखको जिम्मेवारी पाउनु भएका यादव वडा नं। ९ का वडा अध्यक्ष हुन भने उपप्रमुखको जिम्मेवारी पाउनु भएका चौधरी वडा नं। ३ का अध्यक्ष समेत हुन । बुधवार जलेश्वर नगरपालिकाको बोर्ड सदस्यहरूको बैठकबाट बहुमतीय प्रणालीले चयन गरेको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले जानकारी दिनुभयो ।

वैशाख २७ गतेका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाको नगर प्रमुख सुरेशप्रसाद साह र उप प्रमुख रौशन खातुन लगायत १२ जना माथि विशेष अदालतमा आरोप पत्र दायर गरेपछि सो पद रिक्त रहँदै रहँदै आएको थियो ।

हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जलेश्वर नगरपालिकाबाट आ।ब। २०७९÷०८० मा सञ्चालित जलेश्वर नगरपालिका वडा नं। १ महोत्तरी बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पी।पी।सी। ढलान कार्यमा जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैठौँ धिरेन्द्र झा , जलेश्वर नगरपालिकाका बरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी र सव–इन्जिनियर दीपेश कुमार साहले, कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर नगरपालिकाका वडा नं।

१ का वडा अध्यक्ष अनिल कुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीले पी।पी।सी। ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीको लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा पाँच लाख ८४ हजार ६३७ रुपियाँ बढी रकम भुक्तानी गरेको पछि आयोगले मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्