Logo

कांग्रेस-एमालेले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा



कैलाली, २३ असार । नेपाली कांग्रेस र नेकपा ९एमाले०ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेको छ ।

दुवै पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेको हो ।

कांग्रेस प्रदेश सभाका संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिङ रावलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि काम सम्पादन नगर्न र नगराउनसमेत आग्रह गर्दछौँ ।’

केन्द्रमा काग्रेस र एमालेबीच सरकार गठनका लागि सहकार्यको सहमति भइसकेपछि यहाँ पनि एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारीको प्रदेश सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्