Logo

कञ्चनपुरमा डुबेर तीन किशोरीको मृत्यु 



कञ्चनपुर, २४ असार ।  कञ्चनपुरमा बाढीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ ।  पुनर्वास नगरपालिका–५ रातीखालीमा दोदा नदीमा आएको बाढीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै किशोरीहरुको शव सोमबारफेला परेको हो ।

पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी, १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीयाआरती बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।  उनीहरुसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन् ।

चारैजना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेको प्रहरीले जनाएको छ । दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरको अधिकाकांश क्षेत्र डुबानमा परेको छ । बाटाघाटा सबै डुबानमा परेकाले घर बाहिर निस्किन सकिने अवस्था छैन ।

यसअघि आइतबार घरभित्र बाढी पस्दा डुबेर कृष्णपुर नगरपालिका–१ पहरियामा सात महिनाको सोनु धानुकको मृत्यु भएको थियो भने बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्