Logo

मुकुल ढकाललाई कारबाही गर्नेबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।

बैठकमा आज अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ । साथै पार्टीका निलम्बित महामन्त्री डा। मुकुल ढकालमाथि कारबाही गर्ने वा निलम्बन हटाउने भन्नेबारे छलफल हुने बताइएको छ ।

डा। ढकालले स्थापनाकालदेखि महामन्त्री र प्रवक्ताको दोहोरो भूमिका निभाइरहनुु भएको थियो । तर, पार्टीले अहिले उहालाई अनुशासन उल्लंघनको आरोपमा निलम्बनमा राखेको छ ।

आज बस्ने केन्द्रीय समिति बैठकले ढकाललाई पदमुक्त गर्ने सम्भावना रहेको स्रोतले बतायो । यस विषयमा पार्टीको अनुशासन आयोगले नेतृत्वलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनमा गरिएको सिफारसअनुसार नै कारबाही गर्ने वा त्यसमा तलमाथि गर्ने अधिकार केन्द्रीय समितिलाई रहन्छ ।

ढकाल निलम्बनमा परेपछि कार्यबाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई र कार्यबाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको थियो ।

ढकालको पद पुनःस्थापना नहुने भएपछि स्थायी महामन्त्री चयन गर्ने तयारी भएको हो । महामन्त्री चयनको अधिकार सभापतिलाई हुने भए पनि सभापति रवि लामिछानेले केन्द्रीय समितिबाट निर्णय गर्ने बताउनुुभएको छ ।

प्रतिक्रिया दिनुहोस्