Logo

रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ:मुकुल ढकाल



काठमाडौँ, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताउनु भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताउनु भएको हो । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्नुभयो ।

ढकालले आफूलाई गरेको कारवाही नियम संगत नभएको भन्दै आफू अहिले पनि पार्टीको महामन्त्री रहेको दावी गर्नुभएको छ । उहाँले आफूले पार्टीभित्र आर्थिक पारदर्शीता नभएको भन्दै रास्वपाको आर्थिक पाटो उपसभापति डिपी अर्यालले हेर्ने गरेको बताउनुभयो ।

कतिपय प्रकरणमा उपसभापति अर्यालले पार्टीको नाममा आएको रकम व्यक्तिगत रुपमा चलाएको आरोप पनि लगाउनु भएको छ । आफूले आर्थिक पारदर्शिता गर्नुपर्ने कुरा उठाउँदा सभापति लामिछानेले आर्थिक कुराको चिन्ता नलिन भनेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्