काठमाडौं, २८ साउन । सेयर कारोबार रकमले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन २५ अर्ब ७७ करोडभन्दा बढीको कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । तर उक्त रेकर्ड सोमबार पुनः तोडिएको हो । सोमबार अहिलेसम्मकै उच्च २७ अर्ब २४ करोडभन्दा बढीको कारोबार भएको हो । नेप्से सूचक पनि ७०।८१ विन्दुले बढेर २९३१।६५ अंकमा आएको छ ।
सेयर बजार सूचकले सोमबार २९ सय अंकलाई पनि सजिलै पार गरेको छ । सूचकसहित कारोबार रकममा पनि झनै उत्साह देखिएको छ । बिक्रेताभन्दा क्रेताहरुको संख्या ह्वात्तै बढेपछि बजारले नयाँ–नयाँ उचाई तय गर्न सकेको हो ।
बजार निरन्तर बढ्न थालेपछि नयाँ लगानीकर्ता पनि थपिइरहेको देखिन्छ । व्यापक कारोबार रकमसहित नेप्से बढेकाले दिनहुँजसो नयाँ–नयाँ रेखा कोरिन सकेको हो । २ वटा बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । झन्डै २ दर्जन कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
नेप्से फराकिलो अंकले बढ्दा सबै उपसमूहका सूचकहरु पनि वृद्धि भइरहेको देखिन्छ । कतिपय अवस्थामा सेक्टर रोटेसन हुँदै पनि कम्पनीको भाउहरु बढेको पाइन्छ । जे होस, समग्रमा बजारमा लगानीकर्ताको उत्साह थपिएको छ । नयाँले पुँजीगत लाभ पाइरहेका छन् भने फसेका पुराना लगानीकर्ताको पनि घाटा कम हुँदै गएको अनुमान गर्न सकिन्छ ।
सर्ट टर्ममा नाफा बुक गरेकाहरुले पनि पुनः उक्त पैसा पनि यतिबेला सेयर बजारमै लगाइरहेको फ्रन्ट लाइनमा बसेर काम गर्ने ब्रोकरहरुको भनाई छ । लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् । समग्र अर्थतन्त्रले अझै पनि अपेक्षा अनुसार गति लिइसकेको छैन । यसर्थ, पनि अहिले पुँजी बजारमा सना–ठूला सबैथरिका लगानीकर्ता आकर्षित भएको पाइन्छ । बढ्दो बजारमा तत्काल नाफा बुक गर्न सकिने भएकाले पनि आकर्षण चुलिएको हो ।
बजारमा ठूला र संस्थागत लगानीकर्ताको प्रवेश भएको छ । यसका साथमा, साना र मध्यमस्तरका नयाँ लगानीकर्ता पनि थपिइरहेको ब्रोकरहरुको भनाई छ । बजार बुल रनमा रहेको छ । बेलाबेलामा केही करेक्सन भए पनि अन्ततः नेप्सेले अझै माथिल्ला विन्दुहरु तय गर्ने अनुमान गर्न सकिन्छ ।
नीतिगत सुधारपछि बजारमा उत्साह देखिन थालेको हो । विशेषगरी, केन्द्रीय बैंकले सेयर बजारलाई सपोर्ट हुने गरी नीतिगत सुधार गरेपछि नयाँ माहोल आएको हो । यस्तै, बैंकिङ प्रणालीमा रहेको तरलता र घट्दो ब्याजदरले पनि बजार वृद्धिका लागि निकै सहयोग गरेको देखिन्छ ।
यसअघि बजार लामो समयसम्म प्यानिक अवस्थामा रह्यो । करिब ३ वर्ष घटेको नेप्से असार मध्यतिरबाट वृद्धिको बाटोमा लागेको हो । प्रतिकूल अवस्थामा पनि सूचीकृत कम्पनीहरुले औसतमा नाफा वृद्धि गर्दै लगेका छन् । नाफा बढेकाले लाभांश अनुपात पनि क्रमशः विस्तार हुँदै जाने देखिन्छ । यसले पनि आम लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
सेयर बजार सुधार र विकासप्रति, नियामक तथा सरकारको प्रतिबद्धता मुख्य विषय हो । अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म बजार विकासका लागि प्रतिबद्ध देखिनु, यसअघि बाधाका रुपमा देखिएका विषयहरु खुकुलो बनाउनुले पनि लगानीकर्ता उत्साहित भएका हुन् ।
यसैगरी, नयाँ ब्रोकरहरु थपिएका छन् । थपिएका ब्रोकरहरुले पनि नयाँ ग्राहक खोजिरहेका छन् । यसकारण पनि बजारमा लगानीकर्ताको संख्या थपिन सहयोग पुगेको हो । लगानीका अन्य क्षेत्रहरु संकुचित भएको अवस्था रहेकाले पनि यतिबेला धेरै व्यक्तिहरु सेयर बजारतर्फ मोडिएको अनुमान छ ।
आम लगानीकर्ताले भने सकेसम्म सबल वित्तीय सूचक भएका, लाभांश क्षमता उच्च रहेका कम्पनीहरु छानेर लगानी गर्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् । लगानीसम्बन्धी योजना र रणनीति तय गर्न सके झन् राम्रो हुन सक्छ ।
यस दिन ३३९ कम्पनीको ६ करोड ४८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब २२ करोडभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल फाइनान्स परेका छन् ।