सिन्धुली, ३० साउन । सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट बुबाको ज्यान गएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका(७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लालबहादुर घिमिरे विकलाई उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेका थिए । लालबहादुरको घटना स्थलमै ज्यान गएको थियो ।
घटनाको खबर प्राए लगत्तै प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृतसहितको टोली खटिएकोमा विकलाई बन्चरोसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मृतक विकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ ।