झापा, २० भदौ । झापाको बिर्तामोड नगरपालिकाले विहिबार एकैदिन ६ वटा आयोजनाको शिलान्यास गरेको छ । नगरपालिकाले विर्तामोड ७ मा एक कार्यक्रमकाबीच एक सामुदायिक भवनसहित ७ वटा योजनाको एकसाथ शिलान्यास गरेको हो ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले एक उक्त ७ वटा योजनाको एक साथ शिलान्यास गर्नुुभयो । देशभरका १३ जना महिला मेयरका लागि सरकारले विनियोजन गरेको जनही १३ करोड रुपैयाँबाट उक्त योजना निर्माण गर्न लागिएको हो । महिला मेयरलाई विकास निर्माणमा प्रोत्साहित गर्न उपलब्ध गराइएको बजेट पूर्वाधार निर्माणका लागि शहरी विकास मन्त्रालय मार्फत पठाएको प्रसाईले जानकारी दिनुभयो ।
महिला मेयर प्रोत्साहन अन्तर्गत प्राप्त बजेटलाई नगर प्रमुख प्रसाईले सडक पूर्वाधार निर्माणमा खर्च गर्ने निर्णय बमोजिम ठेक्का लगाएर काम सुरु गरेको बताउनुुभयो । ६ वटा कालोपत्रे सडक र सामुदायिक भवन निर्माण गर्न शान्ति उद्देश्य निर्माण सेवाले ठेक्का पाएको छ ।
६ वटा बाटोमा एभरेष्ट स्कुल हुँदै हरिहर आश्रमदेखि मियावारी बिर्ताबजारसम्म १२४० मिटर, करेलावारी माधव न्यौपानेको घर हुँदै वडा नं १० को विराट आधारभूत स्कुल जोड्ने सडक १३०० मिटर , पूर्वपश्चिम राजमार्ग उत्तर अतिथि सदन हुँदै मनकुमार गौतमको घर अर्जुनधारा नगरपालिकाको सिमाना जोड्ने सडक ९०० मिटर , सांगवेद खादोसरी मार्ग हुँदै पूर्व गौरव पेट्रोलपम्पबाट दक्षिण बानालाल मार्गसम्म ९४० मिटर, गरामनी त्रिवेणी चौकबाट कटहरवारी हुँदै हल्दिवारीसम्म १२३७ मिटर ,पंचकन्या धर्मकाँटा उत्तर सिर्जना इन्दिरा खवासको घर हुँदै अर्जुनधारासम्म १२०० मिटर कालोपत्रे बाटो निर्माण हुने बताइएको छ । सामुदायिक भवन तर्फ हरियाली सामुदायिक वन पार्कभित्र निर्माण हुने जनाइएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बिर्तामोडमा काम नभएको भन्दै भ्रम फैल्याउने काम भइरहेको बताउनुुभयो । उहाले काम भए नभएको बुझ्न नगरमै आउन समेत आग्रह गर्नुभयो। जनताको आश्यकता र बजेटको सुनिश्चितता भएसम्म काम गरिरहेको उहाको भनाई थियो ।
यस्तै, नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले विकासमा कुनै राजनीतिक दलहरुले अवरोध गर्न नहुने त्रताउनुभयो ।अध्यक्ष भट्टराईले निर्माण व्यवसायीलाई गुणस्तर निर्माण र समयमै सक्न ध्यानाकर्षण समेत गराउनुभएको छ ।
शिल्यान्यासमा शान्ति उद्धेश्य निर्माण सेवाका सञ्चालक नयन बरालले उक्त योजनाहरु बजेटमा कुनै कठिनाई नभए समय अगावै काम सक्ने प्रतिवद्धता जनाउनुभयो ।
शहरी विकास कार्यालयका इन्जिनियर सुरेशकुमार चौधरीका अनुसार भ्याटबाहेक ६ करोड ३१ लाखको लागतमा शान्ति उद्धेश्यले ठेक्का लिएको छ । ३५ प्रतिशत बिलोमा ठेक्का लिएका छन् । बिर्तामोड नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन घनश्याम भण्डारीले गर्नुभएको थियो ।