Logo

श्रीमती हत्याका दोषी कोइरालाको अन्तर्वार्ताको औचित्य ?



श्रीमती हत्याका अभियुक्त रञ्जन कोइरालासँग पत्रकार ऋषी धमलाले प्राइम टेलिभिजनमा अन्तर्वार्ता लिएका छन् । पत्रकार धमलाले अदालतमा विचाराधीन मुद्दाका दोषी व्यक्तिसँग अन्तर्वार्ता लिनु पत्रकार आचारसंहिता र मर्यादाले दिन्छ ? विचारधीन मुद्दा प्रभावित बनाउने गरी भएको अन्तर्वार्ताले पत्रकारितामा के सन्देश दिन्छ ?

पत्रकार धमलाको सोसल मिडियामा आलोचना चुलिएको छ भने पत्रकारिता क्षेत्रमा यस्ता समाचार सामग्री कति उचित कति अनुचित ? भनी बहस सुरु भएको छ । सञ्चार अध्ययेता भानुभक्त आचार्यले पत्रकार धमलाले कोइरालासँग गरेको अन्तर्वार्ताका विषयमा गरेको टिप्पणी निकै सान्दर्भिक भएकाले जस्ताको तस्तैः

अपराधी वा अभियुक्तलाई टेलिभिजन वा आमसञ्चारमाध्यममा अन्तर्वार्ता लिनुहुँदैन, किनभने कानुनी वा अदालती प्रक्रियामा रहेको व्यक्तिले आफूलाई निर्दोष देखाउने, एक पक्षीय एवम् भावनात्मक कुरा गरेर जनमत सिर्जना गर्ने र न्यायिक प्रक्रियालाई अबरुद्ध गर्न सक्ने अवस्था रहन्छ ।

ऋषि धमलाजीको “जनता जान्न चाहन्छन्” कार्यक्रममा निम्त्याइएका पाहुना रञ्जन कोइराला नियतपूर्वक, योजनाबद्ध र क्रूर तरिकाले श्रीमती मारेर प्रमाण नष्ट गर्न खोज्ने पूर्वप्रहरी अधिकृत हुन् । सर्वोच्च अदालतले रञ्जनको सर्वस्वहरणसहित आजीवन काराबासमध्ये १२ वर्ष माफी गरेर छुटकारा दिएको भए पनि त्यो फैसला विवादित भएर पुनरावलोकनका लागि पुनः सर्वोच्च अदालतमा पेस भएको अवस्था छ । यसको अर्थ रञ्जन जेल बाहिर भए पनि उनी अझै न्यायिक प्रक्रियाको दायराभित्र छन् ।

यस्ता मान्छेले आफ्नो सफाइ दिने भनेको अदालतमा हो, टेलिभिजन वा कुनै आमसञ्चार माध्यममा होइन । पत्रकारिता पेसामा संलग्न मान्छेले कम्तिमा यति कुरा बुझ्नु आवश्यक छ किनभने कुनै पनि सर्तमा पत्रकारिता सामाजिक न्यायको प्रक्रियाको विरुद्धमा जानु हुँदैन ।

एभिन्युज टेलिभिजनमा चुडामणि शर्मा

केही वर्षअघि एभिन्युज टेलिभिजनमा चुडामणि शर्मालाई अख्तियार दुरुपयोग गरी करोडौं भ्रष्टाचारको आरोप लागेको बेला आफ्नो सफाइ पेस गर्ने गरी एकजना अनुभवी भनिएका पत्रकारले अन्तर्वार्ता लिएका थिए ।

पत्रकारिताका न्युनतम सर्तहरुलाई बुझ्न सकिएन भने कपाल फुलेर मात्रै वा वरिष्ठ भनिदिएर मात्रै पत्रकार हुन सकिन्न । पैसा वा अन्य प्रलोभनका कारणले अपराधीहरुको पहुँच वा नियन्त्रणमा मिडिया पुग्नु भनेको नेपालको संविधानको धारा १९ ले दिएको अधिकारको दुरुपयोग हो ।

रञ्जन अन्तर्वार्ता प्रकरणमा ऋषि धमलाजीले यथाशीघ्र सार्वजनिक क्षमायाचना गर्नु वेश होला । साथै, प्रेस काउन्सिल नेपालले ऋषि धमलाजी र उहाँको प्राइम टेलिभिजनलाई स्पष्टीकरण सोध्न जरुरी छ ताकि आगामी दिनमा अपराधीहरु आमसञ्चारमाध्यममा आफ्नो वकालत गर्न आइपुग्न नपाउन् ।

प्रतिक्रिया दिनुहोस्