Logo

कोरोनाले खुम्चिएको ‘हरितालिका तिज’

सुनिरा मैनाली



हिन्दू महिलाको महान पर्व हरितालिका तिजमा सधै झै यस वर्ष मनाइएको छ । तर, बिगत वर्षमा जस्तो त्यति रौनक छैन् । केहि वर्ष यता महिनौ अघि तिजलाई धुमधामकासाथ मनाइन थालिएको थियो । एक महिना अगाडिदेखि गाउँ, शहरका चोक, गल्लिमा तिज गीत घन्काएर तिज विशेष कार्यक्रम हुन्थे ।

कतिपय महिललाई त तिजका कार्यक्रममा आशनग्रहण गर्न भ्याई नभ्याई हुन्थ्यो । तर, यसपटकको तिजको माहोल भने अलिक भिन्न छ । यस वर्ष भने तिज कै दिन समेत हर्ष उल्हास छैन । किनकी हामी यो वर्ष कोरोना भाइरस (कोभिड१९) को महामारी सँगको लडाइमा लडिरहेका छौँ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि अछुतो छैन । पूरै विश्वसँगै हामी पनि संक्रमणको त्रासमा बाँच्नु परेको अवस्था छ । महामारीका बीच जिउन सिक्नुपरेको छ । थाहा छैन कोरोनाले अझै कति समय हाम्रो खुशीमाथि खेल्ने हो । अझ, कति असर गर्ने हो, कुनै निश्चितता छैन ।

हामी नेपालीका मुख्य चाडपर्वहरु सुरु भाइसकेका छन् । तर, पछिल्लो समय कोरोना भाइरसका कारण सबै चाड पर्वहरु ओझेलमा परेका छन् । यतिबेला हामी चाडपर्व उल्लाहससाथ मनाउन सक्ने अवस्थामा छैनौं । तिज मात्र होइन नेपालीको महान चाड दशैँ, तिहार, छठ पनि नजिकिँदै छन् । यी चाडहरु पनि कोरोनाका कारण मनाउन पाइदैन भन्नेमा कुनै दुईमत छैन ।

समाजमा रहेका सांस्कृतिक परम्परागत कुरामा पनि यसको असर प्रत्यक्ष देख्न सकिन्छ । नेपाली नारीको महान चाड हरितालिका तिज पनि कोरोना कै कारण मनाउन सक्ने अवस्थामा छैनौं । एक महिना अगाडिदेखि गाउँ, शहरमा घन्किने तिजका गीत अहिले सबै कोरोना कहरभित्र गुम्सिएका छन् ।

बिवाहित महिलालाई मार्इतीघरमा डाकेर मिठा परिकार खुवाउदै मार्इतीसँग भेट्घाट गर्दै रमाइलो गर्दै चेलीबेटी मार्इतीघरमा रमाउने, सुख–दुःखका बेदना खोली नाच्ने, गाउने नेपाली इतिहासमा चल्दै आएको चलन हो । तिजको अघिल्लो दिन राती दर खाने चलन अहिलेपनि समाजमा छ ।

सामान्य रूपमा मनाउनेलाई भन्दा तडकभडक गर्नेका लागि त यो वर्षको तिज खल्लो नै बनेको छ । अझ भनौं महँगा लुगा र गहना लगाउने अनि तडकभडक गर्नेका लागि यो वर्ष तिज नै आएन । पछिल्ला केहि समय यता तिजभन्दा महिनौँ अगाडिदेखि होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसभित्र गरिने खानपान गर्ने चलन बढ्दै गएको थियो । तर, कोरोना भाइरसको महामारीका कारण यो वर्ष भने त्यस्तो दृश्य दखिएको छैन ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले कडाइ गरेकाले यो वर्ष दरको तडकभडक ठप्प छन् । रोगका कारण घरबाहिर निस्कन पनि डरमर्दो छ । ठाउँ ठाउँमा निषेधाज्ञा छ । कतिबेला कसलाई संक्रमणले भेटाउने हो थाहा छैन । संक्रमितको संख्या बढेको बढ्यै छ । कोरोनाले दैनिकसजसो मानिसको ज्यान लिएको छ ।

सरकारले चाडपर्व मनाउँदा पाहुना नबोलाउन तथा पाहुना नबन्नका लागि आग्रह गरेको छ । कोरोना महामारी साम्य नभइसकेको अवस्थामा सरकारले जारी गरेका मापदण्ड पालना गर्नु र आग्रहलाई मान्नु नागरिकको पनि कर्तव्य पनि हो ।

फायल तस्वीर

पहिला कोरोना सकियोस् अनि मात्र चाडवाड मनाउँला भन्ने सोचेर महामारी नियन्त्रणमा सरकारलाई साथ दिनु एउटा जिम्मेवार नागरिकको कर्तव्य हो । परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी पनि हो ।

सरकार र जनता मिलेर कोरोना नियन्त्रण गर्नुको विकल्प छैन । नत्र भयावह अवस्था नआउला भन्न सकिँदैन । त्यसैले सरकारलाई गाली गरेर होइन सरकारले भनेको मानेर सहयोग गरौँ, आफै पनि कोरोनाबाट बचौं र अरुलाई पनि बचाऔँ ।

यतिबेला हामी कोरोना सँगको लाइमा छौ । यदि यो लडाइमा हामीले जित्यौ भने त हरेक सालको तिज मनाउन पाउँछौ तर, हामीलाई कोरोनाले जित्यो भने हाम्रो जिवनै जान्छ । त्यसैले सोच विचार गरेर, सभ्य, सिमित, अनि सुरक्षि भएर यसपालिको तिज मनाऔँ । हरितालिका तिजको यहाहरु सम्पूर्णलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्