Logo
  बैशाख ६, २०८१ बिहीबार

बिहारको निर्वाचन र प्रदेश २ को तस्बिर



चुनावी सभामा तेजश्वी यादव

भारतको बिहार प्रदेशमा विधान सभाको चुनाव हुँदैछ। बिहारमा पछिल्लो ३० बर्ष देखि मुख्यतः दुईवटा राजनीतिक दल लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दल र नितिश कुमार नेतृत्वको जनता दल युनाईटेडको शासन रहेको छ ।

दुबैले सर्वथा पृथक नारामा राज्य गरे । राजदले “सामाजिक न्याय” र जेडियूले “समुन्नति” को नारामा । राजदले सामाजिक न्यायको मुद्दालाई सर्वाधिक महत्व दियो, जनताले बृहद् फस्टाएको अपराध तथा आर्थिक अवनतिलाई शुरूका १५ वर्षसम्म ध्यानै दिएनन् ।

यसपछि जेडियूले सुशासन तथा जनताको विकासको नारालाई जोड दियो । तर, राज्यलाई शासनको निरन्तरतामा मात्र केन्द्रित गर्यो, फलतः आर्थिक विकासको कुरा नारामा मात्र रहन गयो ।
जनता रनभुल्लमा रहें, सात दशक बित्यो । समग्रमा राजनीतिक स्वप्न, शोषण बिरूद्धको प्रतिशोध, विकासका नारा र धर्मान्ध चेतनाको ध्रुबिकरणमा सात दशक बितेको छ ।

आज बिहार प्रदेशको समुन्नतिको कैनभासमा यस्तो तस्वीर देखिन्छ(जहाँ ३३.७४% जनसंख्या गरिबीको रेखामुनी छ । उद्योगले जम्मा १७% अर्थतन्त्रलाई धानेको छ । भारतको २९ प्रदेशमा जिडीपीको हकमा बिहारको स्थान ८ औं छ । त्यहाँ ५२.४७% जनसंख्या निरक्षर छन् । यो भारतकै उच्च दर हो ।

मुख्यमन्त्री नितिश कुमार

करिब ४०% छात्र छात्रा १२ औं कक्षामा पुग्दा विद्यालय छोडद्छन्, १३.६% ले मात्र उच्च शिक्षामा भर्ना लिन्छन् । समग्रमा ३५.९% बालबच्चा शिक्षाबाट बंचित छन् । त्यहाँ करिब ४२% बालबच्चा कुपोषणका शिकार छन् । बिहारमा १६-६५ बर्ष उमेर समुहका ३८.२% बेरोजगार छन् भने ४०.५% मजदूर काम बेगर बाँचेका छन् ।

यी तथ्यांकहरू बिहारमा यस अधि चुनावका गम्भीर मुद्दा बनेको थिएन् । सामाजिक न्यायको चर्को कुराले आर्थिक बदहालीको कुरालाई ओझेलमा राखेको थियो । तर अहिलेको चुनावमा यस्ता सवालले बिहारका ठूलो जनसंख्याको ध्यान खिंचेको छ । जनताले प्रश्न गर्न थालेका छन कि अब थप कति बर्षको समय दिने रु जनताको यो प्रश्न सत्तारूढ गठबन्धनका लागि कठिन भएको छ ।

नेपालका केही प्रदेश भारतका प्रदेशसँग जोडिएको छ । तर सब भन्दा बढी तादाम्यता प्रदेश-२ को बिहार प्रदेश सँग छ । यसर्थ, नेपालको प्रदेश-२ ले बिहारको चुनावमा उठेका सवाल तथा अपेक्षालाई गहन रूपमा बुझ्नु जरूरी छ । यो यस कारणले पनि बुझ्नु जरूरी छ कि, प्रदेश-२ को सरकार तथा यसका सत्तारूढ दलले बितेको समयावधिमा बढी महत्व “अधिकारका सवालहरू” र “सामाजिक न्याय” का कुराहरूलाई दिई रहेको देखिन्छ ।

नेपालको प्रदेश-२ जस्को आठ वटै जिल्लाहरू भारतको बिहार प्रदेशसँग जोडिएको छ, यहाँ पनि २७.७५ मानिस गरिबीको चपेटमा रहनु परेको छ । स्वतन्त्र विज्ञहरूले यो ३५ प्रतिशत भन्दापनि ठूलो रहेको भन्छन् । यो प्रदेश बहुआयामिक गरिबीको मापदण्डमा पुरै मुलुकमा उच्च छ ।

नेपालका ७७ जिल्ला मध्ये प्रदेश-२ को आठ जिल्लाका बहुआयामिक गरिबहरूको जनसंख्या ३५% रहेको छ । यस प्रदेशमा स्कूल जाने उमेरका मध्ये ५०% बालबच्चाहरू मात्र स्कूलमा भर्नासम्म लिएको छ । कुपोषणका शिकार जनसंख्याको सन्दर्भमा कर्णाली प्रदेश पछि प्रदेश-२ आउँछ ।

प्रदेश-२ मा १५-४९ उमेर समूहका महिला मध्ये ५८% एनिमीया रोगबाट ग्रस्त छन भने ३६.८% नवजात बच्चाहरू कम तौलका जन्मिने गर्छन् । मुलुकका कुल ३५५२० वटा स्कूलहरू मध्ये प्रदेश-२ मा स्कूलको संख्या ४१३७ रहेको छ ।

यस प्रदेशबाट २४.२०% युवाहरू श्रम बेच्न विदेशिएका छन् । आर्थिक बिकाश दर भने जम्मा २.३% रहेको छ । यो प्रदेश युवा साक्षरता दरमा मुलुक मै सबभन्दा कम ६३% रहेको छ, जबकि गण्डकी प्रदेशको सर्वाधिक ९५% छ । मुलुकको कूल ४,०१,२३६ उद्योगको तुलनामा प्रदेश-२ मा उद्योग संख्या ५४,९१० छ ।

यहाँको ५४,०४,१४५ जनसंख्यामा जम्मा १३ वटा अस्पताल रहेका छन् । हालको महामारी कोविड-१९ लाई नियन्त्रणमा लिने सन्दर्भमा यो प्रदेश असफल जस्तै देखिन्छ । स्वास्थ्य संरचना ध्वस्त छ । नेपालको सन्दर्भमा प्रदेश-२ को स्थिति मात्र खराब छ भने होईन । तर, प्रदेश-२ तुलनात्मक रूपमा बढी खराब छ ।

लेखक आनन्द

बिहारको निर्वाचनमा ३१-५० उमेर समूहका मतदाताहरू ४४.१% रहेको छ । यसरी नै २६-३० उमेर समूहका मतदाताहरू १५.८% रहेको छ । दुबैलाई जोडदा, अर्थात २६-५० उमेर समूहका मतदाताको प्रतिशत ५६.९ हुन आउँछ ।

बिहार राज्यको बिधान सभा निर्वाचनको गहिरिएर मूल्यांकन गर्नेले त्यहाँको सत्तारूढ गठबन्धनलाई सबभन्दा ठूलो चुनौति यही उमेर समूहका मतदाताबाट हुन सक्ने आँकलन छ । यस उमेर समूहले यस पटक नयाँ अपेक्षाहरू प्रकट गरिरहेको देखिन्छ ।

सामाजिक न्यायको मुद्दा, दलित शसक्तिकरणको सवाल, हिन्दू धर्मान्धता, राम मन्दिरको निर्माण र अल्पसंख्यक अधिकारको कुरा ओझेलमा परेको त भन्नु हुन्न् तर प्राथमिक सवालको रूपमा रहेको छैन ।

बिहार राज्यका झैं नेपालका प्रदेश-२ को पनि जनसांख्यिक स्थिति समान नै रहेको छ । जनताका प्रश्नको निर्माण उमेर समूहको प्राथमिकता तथा समान आकांक्षाले निर्धारण गर्दछ ।

यहाँ प्रदेश-२ अवश्य पनि बिहारबाट बढी प्रभावित रहेको छ । यसर्थ, यहाँका राजनीतिक दलले भोलीका दिनमा सामना गर्नुपर्ने सवालको आँकलन पनि बिहारको राजनीतिक परिदृश्यबाट बुझ्नु उपयुक्त नै हुनेछ । लेखक आनन्दको फेसबुक वालबाट यो टिप्पणी लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्