Logo
  बैशाख ७, २०८१ शुक्रबार

बादलको ‘तेस्रो जनआन्दोलन’ !



काठमाडौँ, २४ माघ । नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले ओली समूहले राजदरबारको गेटमा शुक्रवार गरेको सभामा तेस्रो जनआन्दोलन आवश्यक रहेको घोषणा गरे । उनले भने, अब तेस्रो जनआन्दोन सुरु हुन्छ । बादलको यो घोषणाप्रति विपक्षी मात्र होइन, सभामा सहभागीलेसमेत अनौठो मानेका थिए ।

सरकार र सत्तामा बस्नेले आन्दोलन वा क्रान्तिका कुरा गर्दा सुन्नेलाई पनि अनौठो लाग्ने गर्दछ । भनाई र व्यवहारमा तालमेल मिलेको छैन । यद्धपि, बादलले पार्टी विभाजन पछि क्रान्तिका कुरा गर्न छाडेका छैनन् । प्रचण्डलाई छाडेर ओली समूहमा लागेका बादलका क्रन्तिकारी कुरा आनौठो प्रकृतिका छन् ।

बादलका पछिल्ला भाषण सुन्दा उनी सत्ताधारी पार्टीका नेता नभएर बिद्रोही नेता हुन् भन्ने भान हुन्छ । उनी भाषणमा अक्सर गरेर आन्दोलन, क्रान्ति, विद्रोह, प्रतिक्रान्ति, प्रतिरोध, अग्रगमन जस्ता कम्युनिष्ट शब्दावली प्रयोग गर्दछन् । उनको भाषणप्रति प्रचण्डको टिप्पणी छः बादल जी मान्छे ओली समूहमा हुनुहुन्छ, कुरा हाम्रो गर्नु हुन्छ ।

बादलले त्यही मेसोमा शुक्रबार तेस्रो जनआन्दोलनको आवश्यक्ता औल्याए । संविधान विपरित प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन गरेर निर्वाचन गर्नुलाई बादल अग्रगमन भनेर प्रस्ट्याउने प्रयास गर्दछन् । ओलीको नेतृत्वमा मात्र नेपालको वास्तिविक कम्युनिष्ट आन्दोलन अघि बढ्ने उनको दाबी छ ।

बादलले सत्तामा बसेर पटक पटक क्रान्तिको कुरा गर्नु वैचारिक दुविधा हो वा स्वभाव हो । त्यो भने हेर्न बाँकी नै छ । उनले क्रान्तिका कुरा गरेर तत्कालीन माओवादी पार्टी मोहन वैद्यको नेतृत्वमा विभाजन गरेका थिए । तर, पछि प्रचण्डमा समाहित भए । बादललाई क्रान्तिका कुरा गर्ने तर अवसरवादमा लिप्त हुने गरेको आरोप लाग्ने गरेको छ ।

गृहमन्त्रीकै लागि उनले प्रचण्डको साथ छाडेको बताउने पनि छन् । उनले अहिले क्रान्तिका कुरा गर्ने, पछि प्रचण्ड पावरमा आए पुनः समाहित हुने सोँच हुन सक्ने एकथरीको टिप्पणी छ । बादलको क्रान्तिका कुराले ओली समूहका नेता कार्यकर्ता मात्र होइन, विपक्षीलाई पनि अचम्मित बनाएको छ ।

तेस्रो जनआन्दोलनको आवश्यक्ताका बारेमा पहिलो पटक नागरिक समाजका अगुवा तथा पत्रकार नारायण वाग्लेले प्रयोग गरेका थिए । माघ १२ गते नागरिक समाजले प्रतिगमन विरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेपछि बाग्लेले अब तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरेका थिए । त्यसपछि भने तेस्रो जनआन्दोलनको चर्चा अघि आएको हो ।

२०६२(०६३ को दोस्रो जनआन्दोलनले राजनीति र व्यवस्था परिवर्तन गरेपछि नेता र दलको कार्यशैली परिवर्तन भएन । नेता र दलमा सामन्ती संस्कार र अहंकार जीवितै रह्यो । त्यही अहंकारको परिणाम स्वरुप संसद विघटनको अवस्थामा पुग्यो । ओली विरुद्ध भन्दा ओली प्रवृतिका विरुद्ध र संविधान रक्षाका लागि तेस्रो जनआन्दोलनको आवश्यक हुने नागरिक अगेवाले बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीको कदम विरुद्ध प्रचण्ड नेपाल समूहको नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका साना राजनीतिक दल आन्दोलनमा छन् । राजावादी र दक्षिणपन्थी विचार बोक्ने पार्टी भने प्रधानमन्त्रीको समर्थनमा उभिएका छन् ।

नागरिक समाजले प्रजातन्त्र दिवसका दिन फागुन ७ गते राजधानीमा वृहत सभा गरी तेस्रो जनआन्दोलनको घोषणा गर्ने बताइएको छ । संयुक्त आन्दोलनको पक्षमा आनकानी गर्दै आएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आन्दोलनको पक्षमा उभिने संकेत गरेका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले फागुनको पहिलो सताबाट संयुक्त आन्दोलन हुने प्रतिक्रिया दिएका छन् । जसपाका नेता डा बाबुराम भट्टराईले पटक पटक संयुक्त आन्दोलनमा जोड दिएका छन् ।

अलग अलग भएका आन्दोलनले संकटमा परेको ओली सरकार संयुक्त आन्दोलनको भार थेग्न सक्ने सम्भावना देखिँदैन । राजनीतिक संटकमा घेरिँदै गएको ओली सरकारका विरुद्ध सबै राजनीतिक दल, संघ संस्था र नागरिक समाजले संयुक्त आन्दोलन घोषणा गरे त्यो वास्तविक तेस्रो जनआन्दोलन हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्