Logo

सन्तुष्ट छु म ?



मेचीनगर, २५ वैशाख । मान्छेलाई के नपुग्दो छ अनि के चाहिँ पुग्दो छ ? धन सम्पत्ति, यश, दौलत, मोह, माया के चाहिँ हो वास्तवमा मानिसको आवश्यकता र चाहना ? सायद पृथ्वीमा मानिस मात्रै यस्तो प्राणी होला जसलाई थाहा नै छैन कि आखिर ऊ के चाहन्छ र के खोजिरहेको छ । पृथ्वीमा रहेको झण्डै ९० लाख प्रजातिका प्राणी, जीवजन्तु, बोटबिरुवाहरु सबैको आफ्नो निश्चित लक्ष्य छ, निश्चित आवश्यकता र चाहना छ । तर मानिसको आवश्यकता, चाहना, इच्छा, लक्ष्य केही पनि निश्चित छैन । मानिस कहिले सन्तुष्ट नै भएन । यो प्रकृतिसँग सबै कृतज्ञ छन् केबल मानिस मात्रै प्रकृतिलाई दोसिरहेको हुन्छ । मानिस आफूसँगै त सन्तुष्ट छैन, झन् अरुसँग त के होस् त ।


पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिस नै हो भनेर पनि मानिसले नै घोषणा गरिदियो । अनि बाँदर, कुकुर, डल्फिन लगायतका जीवहरुलाई दोस्रो, तेस्रो बनाइदियो । आफैँ प्रतियोगिता राख्यो अनि आफैँ जित्यो पनि आफैँ खुशी मनायो पनि आफैँ फेरि असन्तुष्ट पनि भयो । उसलाई पृथ्वीको सर्वश्रेष्ठ प्राणी भएर मात्रै पनि चित्तै बुझेन । कस्तो होला यो मानिस !

मानिसले आफ्नो चित्त बुझाउने प्रयासमा पैसाको आविष्कार गरी त्यसैलाई सन्तुष्टिको सूचकसम्म बनाउन भ्याए । जति धेरै पैसा त्यति नै धेरै सन्तुष्टि, खुशी । वाह ! बल्ल पो भेटियो मानिसको लक्ष्य, चाहना । अब भने खुशीले बस्ने भयो मानिस । तर, फेरि पनि उसलाई चित्त नै बुझेन । पैसाले मात्रै कहाँ खुशी मिल्यो त ! संसार जितेको घोषणापछि पनि मानिस आफू–आफूमै सन्तुष्ट हुन सकेन । मानिसले सबैलाई जितेर मानिससँगै हार्दो रहेछ । त्यसैले एउटा संसार जित्नेले अर्को संसार जित्नेलाई लडाउनमा सन्तुष्टि पाउन थाल्यो ।

आहा ! कति आनन्द मभन्दा माथि उठ्नै सकेन । यो प्रकारले मान्छेले सबै थोक जितेको भनेर आफैँ भन्छ फेरि आफैँ यो त केहि पनि होइन पनि भन्छ । सुख, खुशी, सन्तुष्टिको खोजीमा सबैलाई तहसनहस पार्दै मान्छे अन्त्यमा आफैँलाई सिध्याउँछ । मान्छे कतिसम्म हुन्छ भने उसले जे देख्यो, जे भेट्यो त्यहि सक्दिन्छ । उसले रुख भेट्यो रुख नै काटिदिन्छ, पानी भेट्यो पानीलाई नै सक्नतिर लाग्छ, माछा भेट्यो माछा नै खानतिर लाग्छ, हावा भेट्यो हावा नै दुषित पारिदिन्छ, खाली जमिन भेट्यो जमिनको अस्तित्व नै समाप्त पारिदिन्छ । आखिर मान्छेले नबिगारेको चाहिँ के छ र ?

जीवन दर्शनको ठूला–ठूला प्रवचन छाँट्नेहरु त आफ्नै जीवनदेखि दिक्क भएर बसेका छन् भने कसरी अरुको जीवन साकार बनाउँछन् । ती दार्शनिक पनि त आखिर मान्छे नै हुन क्यारे ! फरक यति छ कि मेरो अहिलेको चाहना उसको अहिलेको चाहनाभन्दा सानो होला । मेरो अहिलेको सन्तुष्टि पैसामा होला उसको सन्तुष्टि प्रवचन दिनुमा होला । तर, असन्तुष्ट दुवै नै छौँ । फेरि किन कोही महान् कोही दास । महान्लाई खाएको कुरा नपचेर असुन्तष्ट भइरहेको होला दास खान नपाएर असन्तुष्ट होला । तर, दुवै असन्तुष्ट छन् ।

पृथ्वीमा नभेटेर मान्छेले ग्रह नै परिवर्तन गर्ने लक्ष्य राखेको छ । पृथ्वीले मान्छेलाई चाहे जति दिनै सकेन । अर्कै ग्रहमा जाने रे अब । उता एउटा मान्छे त्यहि अर्को ग्रहमा कसरी जाने र बस्ने भन्ने कुरा खोज्दैछ अनि यता एउटा मान्छे फेरि त्यसले अझै पत्ता लाउन सकेन भनेर दु:खमन गरिराखेको छ । काँहि न काँहि कतै न कतै मान्छेको अन्तिम विन्दु नै पो असन्तुष्टि रहेछ । जसले जति जे गरेपनि अन्त्यमा भेट्ने त असन्तुष्टि नै पो । कति हाँस्छन् होला ती उडिरहने चराहरु पनि मान्छेलाई देखेर । आफूआफू भन्दा हुन् असन्तुष्टिको पराकाष्टा भनेको मान्छे हो भनेर । अनि सायद सबै जीवजन्तुले प्रार्थना पनि गर्दा हुन् कि मान्छेले चाँडै अर्को ग्रहमा जान सफल होस् है हामी आनन्दले बस्न त पाउँथ्यौ । जय मान्छे !

प्रतिक्रिया दिनुहोस्