Logo

लखनपुरमा नै आदिवासी रङ्गशाला निर्माण गर्न प्रधानमन्त्री देउवासँग माग




झापा, ७ साउन । लखनपुरमा नै आदिवासी रङ्गशाला निर्माण हुने पर्ने माग गर्दै झापा कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।

प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रङ्गशालाको भोगाधिकार तथा बजेट विनियोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी मागपत्र बुझाइएको प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले बताए ।

भेटका क्रममा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले आदिवासी रङ्गशालाको योजना पूरा गराउन सरकारले सहयोग पु¥याउने आश्वासन दिएको भेटमा सहभागी प्रतिष्ठानका महासचिव दिपेनवाला राईले बताए ।

टोलीमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री केशवकुमार बुढाथोकी, कांग्रेस झापाका सभापति उद्धव थापा, कांग्रेसकी सङ्घीय सांसद महेन्द्रकुमारी सुब्बा, माओवादी केन्द्र प्रदेश नं १ का सदस्य झलकसिं दर्लामी, प्रदेश कमिटी सदस्य गगन पुरी, जनता समाजवादी पार्टी नेपालका नेता खगेन्द्र माखिम, जसपा झापा जिल्ला अध्यक्ष दिपेनवाला राई तथा प्रतिष्ठानका पदाधिकारीलगायतको सहभागिता थियो ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लखनपुरमा प्रस्तावित आदिवासी रङ्गशालाको नाम परिवर्तन गरी मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला नामाकरण गरेपछि विवाद उत्पन्न भएको थियो । ओली नेतृत्वको सरकारले रङ्गशाला निर्माणमा अवरोध भएको भन्दै दमकको हम्सेदुम्सेमा मदन भण्डारीको नाममा रङ्गशाला निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

ओली सरकार विघटन गरएपछि भने स्थानीय आदिवासी तथा विपक्षी पार्टीले लखनपुरमै रङ्गशाला बन्नु पर्ने माग गर्दै आएका छन् । लखनपुरमा बन्ने भनिएको रङ्गशाला निर्माणबा लागि जनजाति समुदायको चिहानघारी फँडानी गरिएको थियो । दिवंगत आदिवासीको स्मृतिमा रङ्गशाला बन्ने भएपछि आदिवासी जनजाति चिहानस्थल मास्न सहमत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्