Logo
  भाद्र ३१, २०७८ बिहीबार

चिनियाँ बालबालिकाले अब हप्ताको तीन घण्टा मात्र अनलाइन गेम खेल्न पाउने



बेइजिङ, १४ भदौ (एएफपी) । चिनियाँ बालबालिकाले अबखेखि एउटै अनलाइन गेम हप्ताको तीन घण्टा मात्र खेल्न पाउने छन् ।

बालबालिका अत्यधिक अनलाइन खेलमा सम्लग्न हुँदा पठनपाठनमा समय नदिने र एकोहोरो पन बढेपछि चीनले खेल समय कटौती गरेको हो । चीन अनलाइन खेलका लागि विश्वकै सबैभन्दा ठूलो बजार भएपनि सरकारको निर्देशनमा गेम प्राविधिकले यस्तो निर्णय गरेका हुन् । प्राविधिकको खेल समय कटौतीलाई विवेकी कदमका रूपमा अथ्र्याइएका छन् ।

नयाँ नियम अनुसार १८ वर्षमुनिका अनलाइन खेलाडीलाई शुक्रबार, शनिबार र आइतबार बिहान ८ बजेदेखि ९ बजेसम्म मात्र अनलाइन खेल्न अनुमति दिइने कुरा चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जानकारी गराएको छ । प्राविधिकहरूले यसलाई खेलमा हुने अत्यधिक नशालाई रोक्ने कदमका रूपमा व्याख्या गरेका छन् ।

नाबालिगहरूले आफ्नो उमेरबारे झूट नबोलेको सुनिश्चित गर्न अनलाइन खेल्न दर्ता गर्दा खेल खेल्नेहरूले आफ्नो आईडी कार्ड प्रयोग गर्नु आवश्यक हुनेछ ।

यद्यपि बालबालिकाको मनोरञ्जनका लागि विद्यालय बिदामा उनीहरूले केही बढी समय खेल्न पाउने छन् अर्थात् दैनिक तोकिएको समयभन्दा ६० मिनेट बढी खेल्न सक्ने छन् ।

चिनियाँ नेसनल प्रेस एण्ड पब्लिकेशन एडमिनिस्ट्रेशनले भनेको छ, “अनलाइन खेल खेल्ने लतले अध्ययन र सामान्य जीवनमा असर गरेको छ । थुप्रै आमाबाबु दुःखी भएको पाइएकोले खेलको नियमलाई सुधार गरिएको छ ।”

निर्णयअनुसार चीनले कम्पनीहरूलाई तोकिएको घण्टाबाहिर गेमिङ सेवा प्रदान गर्न निषेध गरेको छ तर नियम तोड्नेहरूलाई के सजाय दिइनेछ भन्ने कुरा स्पष्ट पारिएको छैन ।

सन् २०१९ को अन्तदेखि लगाइएको यस पहिलेको प्रतिबन्धले राति अबेर खेलहरू खेल्नमा प्रतिबन्ध लगाएको थियो र खेलाडीहरूलाई हरेक दिन ९० मिनेट र सप्ताहन्त र बिदाहरूमा तीन घण्टा मात्र खेल्नसक्ने गरी प्रतिबन्ध लगाएको थियो ।

हालैका महिनाहरूमा गर्दा चिनियाँ युवाहरूमाझ संस्कृतिप्रतिको रूचिमा वृद्धि गर्ने, आँखाको दृष्टि खराब हुँदै जान रोक्ने र अनलाइन खेलमा लाग्ने लतलाई कम गर्न लक्षित कार्यक्रमहरू ल्याइएको छ ।

चीन अडियो–भिडियो र डिजिटल प्रकाशन सङ्घका अनुसार यस वर्षको पहिलो छ महिनामा १३० अर्ब युआन (करिब २० अर्ब अमेरिकी डलर) राजस्व कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्