Logo
  भाद्र ३१, २०७८ बिहीबार

अनुसन्धानमूलक उच्च शिक्षामा जोड दिइनुपर्छ: राष्ट्रपति भण्डारी



काठमाडौँ, २८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षाले अनुसन्धानमूलक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति तथा पदाधिकारीसँगको भेटका अवसरमा राष्ट्रपतिले विज्ञान र प्रविधिले ल्याएको विश्वव्यापी परिवर्तनका कारण हाम्रा आवश्यकता र समस्या पनि रूपान्तरण भइरहेको सन्दर्भमा परिवर्तनको यो वेगलाई सम्बोधन गर्न सक्षम हुनुपर्ने चुनौती रहेको बताइन् ।

उनले समयको यस रूपान्तरणकारी गतिलाई पहिचान गर्ने र त्यसलाई सम्बोधन गर्न सक्ने जनशक्ति हामीले कति उत्पादन गर्न सक्यौँ भन्ने कुराले हाम्रा सफलता वा असफलताको मापन गर्ने उल्लेख गरिन् ।

प्रकृति र संस्कृतिले सम्पन्न नेपाल भूमिले ज्ञान उत्पादनमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको तथ्य पेश गर्दै राष्ट्रपतिले भनिन्, “जनक सभ्यताबाट उपनिषद्हरूको जन्म भयो। शान्तिका अग्रदूत बुद्धले विश्व शान्तिको सन्देश यहीँबाट फैलाए । इतिहास, गणित र पुरातत्वमा विश्वस्तरीय योगदान गर्ने विद्वान विदूषिहरू यही भूमिले जन्माएको छ ।”

उनले इतिहास र सभ्यताको यस बिरासतबाट प्रेरणा लिँदै हाम्रा विश्वविद्यालयले आफूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। राष्ट्रपति भण्डारीले आर्थिक उन्नतिका दृष्टिले दुई उदयमान छिमेकी देशहरुको बीचमा नेपाल अवस्थित रहेको हुनाले हामीले उत्पादन गर्ने जनशक्ति पनि यी छिमेकीसँगसँगै अगाडि बढ्ने किसिमको हुनु जरुरी रहेको बताइन ।

प्रतिक्रिया दिनुहोस्