Logo
  भाद्र ३१, २०७८ बिहीबार

बिर्तामोडका व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाइने



बिर्तामोड, २९ भदौ । कोरोना भाइरस संक्रमणको जोखिम अझै कायमै रहेको तथा चाडपर्व नजीकिएसंगै हुने भीडभाडलाई मध्यनजर गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले संघमा आवद्ध व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

संघको पहलमा लगाउन लागिएको भेरोसिल खोपको पहिलो मात्र हो । पूर्वको व्यस्त शहरको रुपमा रहेको बिर्तामोडका व्यवसायीहरुलाई आगामी असोज २ र ३ गते दुई दिन कोरोना विरुद्धको खोप लगाउने निर्णय भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।

दुई चरणमा एक हजार ९५० जना व्यवसायीलाई खोप लगाउने कार्यक्रम बनाइएको छ । खोप लगाउनका लागि आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा दर्ता वा नवीकरण भएका उद्योगी व्यवसायीलाई नेपाल सरकारले जारी गरेको परिचय पत्र र पानको फोटोकपी लिएर आएमा संघको रेकर्डमा दर्ता भएकालाई मात्र खोप लगाइने निर्णय भएको संघका प्रवक्ता संजीव घिमिरेले बताए ।

उनले भने–खोप लगाउन पहिला आउनेलाई पहिलो प्राथमिकता दिइन्छ । पहिलो दिन एक हजार र दोस्रो दिन ९५० जनालाई मात्र खोप लगाइन्छ । उनले कसैले अगाडी नै खोप लगाएको र दोस्रो डोजका लागि आए नपाउने उल्लेख गरे । पहिलो चरणको खोप कार्यक्रम भएकाले भ्याक्सिन नलगाउनेहरुले मात्रै यो खोप लगाइने बताए ।

कोरोनाको संक्रमणका कारण लामो समय व्यवसाय बन्द हुदाँ समस्यामा परेको भन्दै यसअघि वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी तथा स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउदै व्इवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग समेत गरेको थियो ।

स्थानीय र प्रदेशसरकारसंग पटक–पटक खोप लगाइनदिन आग्रह गरेपनि व्यवसायीलाई सरकारले प्राथमिकता नदिएपछि बिर्तामोड उद्योग वाणिज्य संघले आफ्नै पहलमा व्यवसायीहरुलाई खोप लगाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्