Logo
  भाद्र ३१, २०७८ बिहीबार

गुडिरहेको बसमाथि ढुंगा खस्दा एक जनाको मृत्यु, तीन जना घाइते



बैतडी, २९ भदौ । जयपृथ्वी राजमार्गमा गुडिरहेको यात्रुवाहक बसमाथि ढुंगा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

पाटन नगरपालिका-८ को झौलेक नजिक सोमबार राति करिब साढे २ बजे कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नम्बरको बसमा माथिबाट खसेको ढुंगाले लागेको हो ।

ढुंगाले लागेर बझाङको थलारा गाउँपालिका-५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

यस्तै‚ ढुंगा लागेर जयपृथ्वी नगरपालिका-११ का ४० वर्षीय हरिप्रसाद जोशी‚३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका-४ का २८ वर्षीय माधव भट्ट घाइते भएको खड्काले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ ।

बसमा सवार अन्य यात्रुहरु सुरक्षित रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । घटनापछि राजमार्ग केही घण्टा अवरुद्ध भए पनि अहिले सञ्चालनमा आएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्