Logo
  भाद्र ३१, २०७८ बिहीबार

संसदमा एमालेको अवरोध जारी, असोज ४ गतेसम्मका लागि बैठक स्थगित



फायल तस्बिर

काठमाडौँ, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को लगातारको अवरोधका कारण प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनासाथ एमालेका सांसदहरुले नाराबाजी गर्दै आजपनि रोष्टम घेराउ गरेका थिए । प्रतिपक्षी दल एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । अवरोधकै बीच ‘विनियोजन विधेयक, २०७८’ माथिको सैद्धान्तिक छलफल सुरु भएको छ । तर, बजेट पारित नभई ४ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

एमालेले आफूले कारवाही गरेका १४ सांसदलाई संसद् प्रवेश निषेध गर्नुपर्ने माग राखी संसद्को चालू अधिवेशन प्रारम्भ भएदेखि नै अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको नवौँ अधिवेशन यही भदौ २३ देखि शुरु भएको थियो ।

संसद्को गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले प्रतिनिधिसभामा सहभागी राजनीतिक दल सम्मिलित सर्वदलीय बैठक सोमबार आयोजना गर्नुभएको थियो । सो बैठकमा एमाले उपस्थित नभएपछि बैठक विनानिष्कर्ष सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्