Logo
  कार्तिक १, २०७८ सोमबार

तालिबानको सरकारमा आन्तरिक विवाद



काठमाडौँ, ३० भदौ । अफगानिस्तानमा तालिबानले गठन गरेको अन्तरिम सरकारमा विवाद देखिएको छ ।

राष्ट्रपति भवनमा तालिबानका सह(संस्थापक मुल्लाह गनी बरादर र खलील उर रहमानबीच भनाभन हुनुका साथै दुई जनाबीचको वादविवादपछि उनीहरूका समर्थक एकआपसमा भिडेका समाचार सार्बजनिक भएको छ ।

गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो। अफगानिस्तानलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनाएको तालिबानले सेप्टेम्बर ७ मा मन्त्रिपरिषद् गठन गरेको थियो । मन्त्रीमण्डलमा अमेरिका लगाइतका देशले आतंककारीको सूचीमा राखेको हक्कानी नेटवर्कका सदस्यसमेत रहेका छन् ।

उक्त वादविवाद प्रत्यक्ष देखेका तालिबानका एक शीर्ष नेताले घटनाबारे जानकारी दिएका बीबीसीले जनाएको छ । बरादर तालिबान सरकारको संरचनालाई लिएर खुसी नभएको बताइएको छ । अफगानिस्तानमा तालिबान सरकारको नेतृत्व नै गर्ने सम्भावना रहेका भनिएका बरादर सार्वजनिक रूपमा नदेखिएपछि आन्तरिक विवादबारे चर्चा भएको हो ।

उनले राजधानी काबुल छाडिसकेको र कन्दाहार गएको दाबी गरिएको छ । यस्तै तालिबानका एक प्रवक्ताले पनि शीर्ष नेतासँगको भेटघाटका लागि बरादर कन्दाहार गएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्