Logo
  कार्तिक १, २०७८ सोमबार

हतारमा विद्यालय नखोल्न निर्देशन



काठमाडौँ, ३१ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा सरोकारवालासँग बुधवार स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले विद्यालय खोल्ने वा नखोल्ने सम्बन्धित पालिकाले निर्धारण गर्ने बताए । उनले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र पालिकासँग समन्वय गर्नसमेत निर्देशन दिएको बताए ।

उनले पालिकामा रहेको कोभिड-१९ को जोखिम आकलन गरी जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ पालना गरी मात्रा विद्यालय खोल्न भनिएको बताए ।

शिक्षक, कर्मचारी र विद्यार्थीलाई कोभिड-१९ सँग आवश्यक अभिमुखीकरण गरी विद्यालय खोल्न निर्देशन दिइएको छ । विद्यालय यही असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ । उनले विद्यालय खोल्नुअघि ती ठाउँमा परीक्षण र उपचारको व्यवस्था समुचित व्यवस्था मिलाउनसमेत भनिएको बताए । विद्यालय खोल्नुअघि बालबालिकाको स्वास्थ्य र उपचार गर्नुपर्ने उनले बताए ।

उनले कोभिड-१९ को सङ्क्रमण घटे पनि जोखिम नघटेको बताए । ‘सबै पालिकामा एउटै अवस्था छैन । सबै विद्यालयमा पनि एउटै अवस्था छैन’, उनले भने, ‘त्यसैले विद्यालयको अवस्था र स्वास्थ्यको मापदण्ड पालना गर्नसक्ने स्थिति हेरी मात्र विद्यालय खोल्नुहोस् ।’

छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख बालानन्द शर्मा, शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एनप्याब्सन) र अभिभावक सङ्घको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्