Logo
  कार्तिक १, २०७८ सोमबार

न गठ, न बन्धन



काठमाडौँ, ३१ भदौ । नेपाली बृहत् शब्दकोशले गठ शब्दलाई यसरी अर्थ्याएको छ- ‘एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो, जम्मा, भेला । मतो वा सल्लाह मिलेका मानिसहरूको समूह।’ बन्धनको अर्थ छ, ‘बाँध्ने काम । ’र, सिंगो गठबन्धन शब्दको अर्थ हुन्छ, ‘कुनै कामकुराका लागि एक भएर मिल्ने कामस परस्परको मिलोमतो । कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना बित्यो । तर, अझैसम्म यसमा न गठबन्धनको स्वरूप देखिएको छ, न चरित्र नै । उल्टै बरु गठबन्धनमा सहभागी दलहरूबीच खटपट बढेको छ ।

अध्यादेश गलपासो

संसद् छलेर ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश नै सत्ता गठबन्धनको गलपासो बनेको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवाका पक्षमा बहुमत पुर्‍याउन ल्याइएको अध्यादेशले अहिले गठबन्धनका दलमा हलचल पैदा गरेको छ । अध्यादेश फिर्ता लिन गठबन्धन भित्रैबाट देउवामाथि चर्को दबाब छ । तर, देउवाले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तार र उच्चस्तरीय संयन्त्र गठनलगायत काम रोकिएको नेताहरू बताउँछन् ।

‘अध्यादेश फिर्ता नहुँदा सत्ता गठबन्धनमा खाडल देखिएको हो,’ जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद् विस्तार हुँदैन । ’संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले अलग्गै दल दर्ता गर्न पाउने अध्यादेशको प्रावधानले सत्ता गठबन्धनका दल झस्केका हुन् ।

गठबन्धनको साझेदार जसपाले उक्त अध्यादेश फिर्ता नलिई मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद् गठन नगर्न देउवामाथि दबाब दिएको छ । अध्यादेशलाई खारेज नगरी मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्रीमा नअटेका सांसदहरूले पार्टी फुटाउन सक्ने जसपाको बुझाई । ‘हामीसँग त प्रधानमन्त्रीज्यू अध्यादेश खारेज गर्छु, भन्नुहुन्छ । तर, खै, अहिलेसम्म किन नगर्नुभएको हो ?’ यादवले आश्चर्य व्यक्त गरे । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्