Logo
  कार्तिक २, २०७८ मंगलबार

एमाले सिध्याउँछौं भन्नेले चुनाव घोषणा गरे हुन्छ: पोखरेल



काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले चुनावको सामना गर्न तयार रहेको बताएका छन् ।

सत्तारुढ दलहरुले गठबन्धन बनाएर एमाले सिध्याउँछौँ भनेको प्रति टिप्पणी गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले चुनाव घोषणा गर्न चुनौति दिँदै भनेका छन्, ‘गठबन्धन बनाएर एमाले सिध्याउँछौं भन्नेहरुले चुनाव घोषणा गरे हुन्छ, एमाले त्यसलाई सामना गर्न तयार छ ।’

गठबन्धन सरकारले दुई महिनामै संसद र सरकारको हुर्मत लिइसकेको पोखरेलको आरोप छ । उनले संसद विघटन संसदीय लोकतन्त्रको अन्त्यका लागि नभएको समेत उल्लेख गरेका छन् । ‘संसद विघटन गर्नेहरु संसदमा जानु हुँदैन भन्नेहरु पनि छन्’, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसदको विघटन चुनावका लागि थियो, संसदीय लोकतन्त्रको अन्त्यका लागि होइन ।’

अहिले आफ्नो पार्टीका १४ सांसदको कारबाही रोकेको भन्दै एमालेले सभामुखप्रति आक्रोश पोख्दै संसद अवरोध जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्