Logo
  कार्तिक १, २०७८ सोमबार

परिवर्तित र एकता प्रक्रियासहित जेठ २ मा फर्किएका हौँ: पोखरेल



काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टी परिवर्तित र एकता प्रक्रियासहित २०७५ जेठ २ मा फर्किएको बताएका छन् ।

बिहीबार काठमाडौँ जिल्ला कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले कार्यदलको १० बुँदे सुझावलाई यिनै मान्यताका साथ पार्टी केन्द्रले ग्रहण गरेको दाबी गरे ।

१० बुँदे सुझाव कार्यान्वयन गर्नका लागि नेतृत्व प्रतिवद्ध छ, पोखरेलले भने, ‘तर अब विकसित र परिवर्तित एकता प्रक्रियासहितको एमाले हो भनेर बुझ्नुपर्छ । जेठ २ को कुरा यान्त्रिक ढंगले मात्रै बुझियो भने गलत हुन्छ ।’

पार्टी एकताको कुरा गर्ने भए पार्टीका पक्षमा दृढतापूर्वक उभिनुपर्ने पोखरेलको भनाइ छ । अहिले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित देखिएको भन्दै महासचिव पोखरेलले जनतामाझ जान नेता कार्यकर्तालाई निर्देशन दिए ।

पार्टी पंक्तिमा अध्ययन र प्रशिक्षणको कमी रहेको उनले बताए । अन्तरपार्टी निर्देशन र आधिकारिक वक्तव्य नपढ्ने, सामाजिक संजाल र संचारमाध्यमले लेखेकै आधारमा धारणा बनाउने गरिएको भन्दै उनले असन्तुष्टि जनाए ।

प्रतिक्रिया दिनुहोस्