Logo
  चैत्र १६, २०८० शुक्रबार

कोरोना मथ्थर हुँदा दशैंको उल्लास



झापा, २४ असोज । नेपालीको महान पर्व विजय दशमी आरम्भ भएको छ । दशैंको मिति नजिकिएसँगै बजारमा दशैंका लागि किनमेल गर्नेहरुको भिडभाड बढेको छ । नेपालीको घर आगनमा महान चाड दशैं तथा तिहार जस्ता ठूला पर्व नजिकिँदै छन् । दशैंमा नयाँ लुगा लगाउने र मिठो मसिनो खाने संस्कृति जस्तै भएको छ । दशैंका लागि कपडा र खाद्यान्न सामग्री किन्नेको बजारमा भिड बढेको ।

कोरोना महामारीले गत वर्ष सोचे जसरी दशैं तिहार मनाउन पाइएन । सबैको मनमा डर र त्रास थियो । यस वर्ष पनि धेरै मानिसले दशैं तिहार मनाउँदैनन् । तर, यस वर्ष भने धुमधामका साथ चाड पर्व मनाउने तयारीमा नेपाली रहेका छन् । यति बेला किनमेलदेखि अन्य सर–सामानको जोहो गरि दशैं मनाउने तयारी भइरहेको छ । शहर तथा विदेशबाट दशैंमा घर फर्कनेको क्रम बढेको छ । दशैंमा टाढा रहेका आफन्तवीच भेटघाट गर्ने, ठूलाबडाको हातबाट टीका ग्रहण गरेर शुभार्शिवाद लिने प्रचलन रहेको छ ।

टिकटको अग्रिम बुकिङ खुलिसकेकाले अहिले बसपार्कमा टिकट काट्नेको पनि भिड बढेको हामी देख्न सकछौं । दशैं मनाउन लागि घर जानेहरुले आफ्ना परिवारका लागि केही न केही नयाँ सामान किनेर लगिदिने भएकाले पनि बजारमा भिड भएको उपभोक्ताहरु बताउँछन् । सडक तथा सपिङ मलमा मानिसको भिड बढेको छ । त्यसो त दशैंमा राम्रो लगाउने र मिठो खाने चाहना सबैको हुन्छ । यसले पनि धैरै मानिस किनमेलमा ब्यस्त छन् ।

पछिल्लो समय केही मात्रामा कोरोना संक्रमण घटेसँगै बजारमा चहलपहल बढेको छ । खाद्यान्न, लत्ताकपडा र गरगहना पसलमा किनमेल गर्नेको घुइँचो लागेको छ । मीठो खाने र राम्रो लाउने पर्वका रूपमा मानिएको दशैंमा आवश्यक पर्ने लत्ताकपडा, जुत्ताचप्पल, सजावटका सामग्री, खाद्यान्नलगायतका सामान किन्न ग्राहकको भिड बढेको छ । दशैं आउनु एक महिना अगाडी देखि किनमेल गर्नेहरुको बजारमा एकाएक भिडभाड बढेको छ । दशैं आउन केही दिन मात्र बाँकी रहँदा पनि यो भिडभाड अझै बढेको छ । अहिले अर्थतन्त्रको संकटले छुटकारा पाउन खोजे पनि स्वास्थ्य संकट चाहिँ झन झन बढ्दो छ ।

दशैं बहुसंख्यक नेपालीको अत्यधिक चहल–पहल हुने चाड हो । दशैंका बेला अर्थतन्त्र चलायमान हुने भएकाले लकडाउन र निषेधाज्ञाबाट ओइलाएको आर्थिक गतिविधि जाग्न खोज्दैछ । अर्कोतर्फ कोरोना भाइरसले भिडभाड कम गर्न र सामाजिक दुरी कायम गर्न दबाव दिइरहेको छ । कोरोना संक्रमित पनि बढेका छन् । मृतकहरु दिनहुँ थपिइरहेका छन् । कोरोना संक्रमण महामारीका कारण स्वास्थ्य सुरक्षा प्राथमिक विषय बनेकाले यस वर्ष वडा दशैंका विधि र परम्परा खुम्चिएका छन् भने सर्वसाधारणले पनि रौनक सीमित गरी सावधानी अपनाएर चाड मनाउनुपर्ने परिस्थिति छ । एकातर्फ दशैंको रौनक, अर्र्का तर्फ कोरोनाको कहर छ ।

दशैंमा सबैले नयाँ कपडा लगाउने भएकाले लत्ता कपडाको मात्रै करिब ७५ प्रतिशत कारोबार हुने व्यापारीहरु बताउँछन् । कोभिडका कारण गत वर्ष चाडबाडका बेला बजार ठप्प भए पनि यसपालि भने केही व्यापार भइरहेको बिर्तामोडमा व्यवसाय गर्दै आएका डिल्ली न्यौपानेले बताए । न्यौपाने भन्छन्, ‘सहज र सीमा नाका खुल्ला हुँदा सबै ग्राहकहरु परि गएर किनमेल गर्थे अहिले नाका बन्द भएकाले पनि पहिले भन्दा अलिक ब्यापार बढेको छ ।’

बिर्तामोडमा उनको होलसेल कपडा पसल छ । अन्य समय भन्दा यो बेला बढी व्यापार हुने हुदाँ आफु अलिक ब्यस्त हुने गरेको उनले बताए । उनले भने,‘अरुबेला तुलनामा चाडबाडमा कारोबार राम्रो हुने गर्छ, लकडाउनले यसपटक कपडाको भाउ निक्कै महँगिएर आएको छ  । सामान किन्न आउने ग्राहकहरु कतिपय महंगो भयो भने फर्किने पनि गरेका छन् । कसैले मन पर्यो भने पैसा नहेरी किनि पनि हाल्छन् ।’

बिर्तामोड बजारमा सपिङ गर्नेहरु पसलबाट हास्दैँ बाहिर निस्किरहेका थिए भने कतिपय मानिस आफुले चाहे जस्तो कपडा नपाएर दिक्क मान्दै हिडिँरहेका थिए । गोलधापबाट दशैको किनमेल गर्नका लागि बिर्तामोड आइपुगेका प्रेम पौडेल भन्छन्, ‘दशैंले देशैभरका बजारहरुमा चहलपहल बढेको हो । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै दशैंका लागि सामान किन्नेहरुको बजार भिडभाड अत्याधिक बढेको छ । यसले कोरोना संक्रमणको जोखिम पनि बढाएको छ ।’ उनले थपे, ‘किनमेल गर्न त आइयो तर, केही सामान किनिसक्नु छैन, हरेक चिजको मूल्य बढेको छ । आफुले छुट्याएको पैसाले त पुग्दै नपुग्ने रहेछ ।’

व्यापार गर्नेहरुका लागि दशैं तिहार सबैभन्दा ठूलो सिजन पनि हो । त्यसकारण पनि व्यापारीहरु सामान बेच्न मै भ्याइनभ्याई देखिन्थे । ‘किन्नेहरु भन्दा हेर्नेहरु धेरै आउँछन्’ बिर्तामोडका एक कपडा व्यवसायीले भने ‘हेर्नेहरु आउँदा पनि खुसी लाग्छ । हामी व्यापारीको लागि त सबैभन्दा ठूलो सिजन नै यही हो ।’ कुरा गर्दै उनले भने ‘एक महिनाको लागि भनेर ५ जना कामदार थपेको छु मैले नि ।’ उनी मात्र होइन् । धेरै व्यापारीहरुले दशै कै लागि भनेर पनि कामदार थप्ने गरेका छन् । शनिबारको दिन अझ बढि भीड हुने हुँदा परिवारका सबै सदस्य जम्मा भएर व्यापार गरिरहेको व्यापारीहरु बताउँछन् ।

त्यसो त दशैंमा राम्रो लगाउने र मिठो खाने चाहना सबैको हुन्छ । ज्याला मजदुरी गरेर कमाउनेहरु पनि दशैंका लागि भनेर पैसा जोहो गरेर राख्छन् । नानिहरुलाई कपडा छान्दै गरेकी एक महिलाले भनिन् ‘दशैंमा आफुलाई केही सामान नकिने पनि छोराछोरीलाई नयाँ लुगा किन्दिने सोच छ । यस्तै बेलामा त रहेछ नि रहर भनेको अब हामीलाई के को रहर र’ भावुक हुँदै उनी भन्छिन्, ‘ज्याला मजदुरी गरेर भएपनि अलि अलि पैसा जम्मा गरेको छु , अलिकति साहुसँग ऋण मागेर भएपनि बालबच्चालाई राम्रो लुगा किनिदिन्छु ।’ छोरछोरीलाई चित्त बुझाएर खुसी बनाउन सकेमा त्यसमै खुसी मिल्ने उनको भनाइ छ ।

उनी त एक उदाहरण मात्र हुन् । उनी जस्ता थुप्रै व्यक्तिहरु छन् । जो दिनरात ज्याला मजदुरी गरेर होस् या शहरका कुनामा भारी बोकेर हिडिरहेका छन् । उनीहरलाई कसरी दशैं टार्नु र बालबच्चालाई राम्रो र मिठो खाने कुरा कसरी जुटाउ भन्ने कुराको चिन्ता हुन्छ । त्यसैले यस्ता महान चाड पर्वहरुमा अरुको देखासिकि नगरौ ऋण काडेर खर्च नगरौ जति सकिन्छ आफ्नो गच्छे अनुसारको किनमेल गर्रौ, दशैंलाई दशा होइन, सांस्कृतिक पर्वको रुपमा मनाऔं ।

प्रतिक्रिया दिनुहोस्