Logo
  कार्तिक १, २०७८ सोमबार

बालबालिकालाई क्षयरोगबाट जोगाउन खोप ८० प्रतिशतसम्म खेर



काठमाडौँ, २६ असोज । बालबालिकालाई क्षयरोगबाट जोगाउन हरेक वर्ष खरिद गरिने ‘बीसीजी’ खोप ८० प्रतिशतसम्म खेर गइरहेको छ । बीसीजी मात्र नभई सरकारले विदेशी मुद्रामा खरिद गरेर बालबालिकालाई निःशुल्क उपलब्ध गराउँदै आएका अन्य खोप पनि खेर जाने गरेको छ ।

गत वर्ष टीडी (टिटनस डिप्थेरिया) ५३.८८ प्रतिशत, जेई (जापानी इन्सेफ्लाइटिस) ४६.९१ प्रतिशत, दादुरा रुबेला ४६.६७ प्रतिशत, पोलियो ओपीभी २३.१७ प्रतिशत, पेन्टा/डीपीटी २२.४९ प्रतिशत खेर गएको थियो । प्याकिङ खोलेपछि निश्चित समयभित्र उपयोग गर्नुपर्ने यी खोप डोजअनुसार उपभोग हुन नसकेको हो । यसमा पनि २० र १० डोज भएका भाइल उपयोग गरेर एक जनालाई मात्र खोप लगाउँदा क्रमशः १९ र ९ डोज खेर जाने गरेको छ ।

आजको कान्तिपुरमा समाचार छ । ‘धेरै डोजको भाइल उपलब्ध हुनुमा उत्पादकको पोलिटिक्ससमेत छ,’ स्वास्थ्य प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले भने, ‘बीसीजी २० डोजको भाइलमा आउँछ, एक जना बच्चा आए पनि भाइल खोल्नैपर्छ, यसले आर्थिक क्षति हुने गर्छ ।’

डा.पौडेलका अनुसार बीसीजीको ५ डोजको भाइल बनाउन असम्भव छैन, कम मात्रा भएको भाइल बनाउँदा खेर जाने दर पनि धेरै कम हुन्छ । ‘जति धेरै डोज भएको भाइल भयो, त्यति धेरै खेर जाने सम्भावना हुन्छ,’ उनले भने, ‘यो हाम्रो नियन्त्रणबाहिरको कुरा भयो ।’ तर, ५ डोजकै भाइल भएको जेईको खोप खेर जाने दर ४६.१ प्रतिशत किन भयो आफूले बुझ्न नसकेको उनले बताए ।

हाल बीसीजी २० डोजको भाइल, एमआर १० डोजको भाइल, जेई ५ डोजको भाइल, पोलियो १० डोजको भाइल र टीडी १० डोजको भाइलमा आउने गरेको छ । बर्सेनि खोप खेर जाने दर कम गरेर मुलुकको करोडौं रुपैयाँ जोगाउन सकिने औंल्याउँदै व्यवस्थापन महाशाखाका खोप सुपरभाइजर अधिकृत ओमप्रसाद उपाध्यायले भने, ‘बीसीजी २० डोजको भाइल बनाइएको छ, एक जनालाई खोप दिँदा १९ डोज खेर जान्छ ।’

बीसीजीको ५ डोजको एउटा भाइल बनाएर त्यसबाट एक जनालाई खोप दिँदा मात्र ४ डोज खेर जाने जनाउँदै उपाध्यायले थपे, ‘नेपालमा बीसीजीको ५ डोजको एउटा भाइल उपयोग गरे हालको अवस्थाअनुसार पाँच गुना कम खोप खेर जान्छ ।’ उनका अनुसार बीसीजी खोप एक भाइलको सरदर २.५ यूएस डलर, पोलियो १.८ यूएस डलर, एम आर ६.६ यूएस डलर र जेई ३.५ यूएस डलर पर्ने गरेको छ ।बाल स्वास्थ्य तथा खोप शाखाका पूर्वप्रमुख एवं हाल व्यवस्थापन महाशाखाका डा.झलक शर्मा गौतमले सरकारको नीतिअनुसार खोप केन्द्रमा एउटा बच्चा आए पनि एक सत्रमा एउटा भाइल चलाउनैपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्