Logo
  कार्तिक १, २०७८ सोमबार

देउवाको पछिल्लो रणनीति: पौडेललाई फुटाउने, कोइरालालाई फकाउने



काठमाडौँ, २६ असोज । मन्त्रिपरिषद्लाई पूर्णता दिएको भोलिपल्ट (शनिबार) स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले छोटो बोले, तर अत्यन्त विचार पुर्‍याएर । उनको भनाइ थियो– मन्त्रिपरिषद् विस्तारमा महत्त्वपूर्ण ‘साथीहरू’ छुटेका छन्, उनीहरूलाई आगामी दिनमा समेटिनेछ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्रीको भनाइबाट मन्त्री हुने चाहना पूरा नभएका कांग्रेस नेता आशावादीमात्र भएनन्, अवसरका लागि उनीप्रति निकट हुन प्रेरित पनि गर्‍यो । शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा नपर्दा कांग्रेसभित्र उनको आफ्नै र इतर समूहका नेतामा असन्तुष्टि देखिएको थियो । महाधिवेशनको मुखमा त्यसबाट पुनः सभापति बन्ने आफ्नो यात्रामा असर नपरोस् भन्नेमा सचेत हुँदै देउवाले उक्त धारणा राखेका थिए । सभापति देउवाका हरेक कदम अहिले मंसिरमा हुने महाधिवेशनलक्षित छन् । बोल्दा होस् वा काम गर्दा, उनी पार्टीको आगामी महाधिवेशनलाई केन्द्रमा राख्न थालेका छन् । देउवा–रणनीतिबारे जानकार एक नेताले भने, ‘मन्त्रिपरिषद् विस्तारमै पनि उनले निकटस्थलाई पर्याप्त अवसर दिइसकेपछि आफूइतरलाई अवसरको आशा जगाइदिए ।’ आजको कान्तिपुरमा समाचार छ ।

देउवा १३ औं महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कमजोर बनाउन चाहन्छन् । मन्त्रिपरिषद् विस्तारमा प्रक्रियामा उनी केही हदसम्म सफल भएका छन् । पौडेललाई आफूइतर समूहको साझा नेताका रूपमा नभई महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको हैसियतमा व्यवहार गरे । त्यहीअनुसार मन्त्रीको कोटा दिए । यसले पौडेललाई ‘मिनिमाइज’ मात्र गरेन, उनको समूहभित्र विग्रह पनि ल्याइदियो । नेत्री सुजाता कोइरालाले शनिबार एक टेलिभिजन कार्यक्रममा पौडेलप्रति आक्रोश ओकल्लै भनिन्, ‘म अब पौडेलको टिममा छैन, उनी पार्टी सभापति बन्नलायक नेता होइनन् ।’ उसो भए तपाईं देउवाको टिममा जानुभएको हो ? प्रस्तोताको जवाफमा उनले भनिन्, ‘त्यस विषयमा मैले अहिले केही पनि सोचेकी छैन ।’

प्रधानमन्त्री देउवा पोखरामा रहेकै बेला सोमबार डोबाटे विश्वकर्मा गण्डकी प्रदेश सरकारको बिनाविभागीय मन्त्री नियुक्त हुनु संयोगमात्र थिएन । मन्त्रीमा नियुक्त गर्ने प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल महामन्त्री कोइरालानिकट र नियुक्त हुने विश्वकर्मा वरिष्ठ नेता पौडेलनिकट हुन् । तर यसको जस प्रधानमन्त्री देउवाले लिए । प्रधानमन्त्रीको स्वकीय सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीले डोबाटेलाई मन्त्री बनाउने प्रयास केही दिनअघि नै गर्नुभएको थियो, संयोगवश उहाँ पोखरा भएकै बेला नियुक्तिको निर्णय भयो ।’ मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार भरत कोइराला भने यसलाई संयोगमात्र भन्छन् । उनका अनुसार विश्वकर्माले आइतबार साँझ र मुख्यमन्त्रीले सोमबार बिहान प्रधानमन्त्री देउवालाई पोखरामा छुट्टाछुट्टै भेटेका थिए । ‘यही सन्दर्भमा नियुक्तिको संयोग पर्‍यो, तर यसमा प्रधानमन्त्रीसँग उहाँहरूको कुनै राजनीतिक लेनदेन भएको छैन,’ उनले भने ।

गण्डकी प्रदेशसभामा कांग्रेसका १५ सांसदमध्ये देउवापक्षीय ९ जना छन् । साढे ३ वर्षअघि संसदीय दल गठन गर्दा देउवा समूहका मणिभद्र कँडेलले संसदीय दलको नेता हुने आकांक्षा राखेका भए पनि महामन्त्री कोइरालाले देउवालाई भेटेर ‘मेरो प्रदेशमा मलाई सहयोग गर्नुहोस्’ भन्दै पोखरेललाई दलको नेता बनाउन आग्रह गरेका थिए । देउवाकै सहयोगमा पोखरेल गण्डकीमा दलको नेता र मुख्यमन्त्री भएका थिए । करिब दुई महिनाअघि देउवाकै निर्देशनमा मुख्यमन्त्री पोखरेलले शपथका लागि तयार भइसकेका विश्वकर्मालाई मन्त्री हुनबाट वञ्चित गरी सांसद बिन्दुकुमार थापालाई मन्त्री बनाएका थिए । राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल महाधिवेशनमा सँगै जाने अवस्था नरहे पनि देउवाले रणनीतिक रूपमा कोइरालालाई महत्त्व दिएको हुन सक्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्