Logo
  कार्तिक १, २०७८ सोमबार

केन्द्रीय सदस्य भए पनि महाधिवेशन कहिले हुन्छ थाहा छैन: थापा



काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४औँ महाधिवेशन अनिश्चित बनेको बताएका छन् ।

आज गोकर्णेश्वर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफू कांग्रेसको केन्द्रीय सदस्य भए पनि महाधिवेशनको बारेमा अनविज्ञ रहेको बताए । आफूलाई कार्यकर्ताहरूले महाधिवेशन कहिले हुन्छ भनेर सोध्ने गरे पनि आफूलाई केही थाहा नभएको उनको भनाइ छ ।

“म नेपाली कांग्रेसको केन्द्रीय सदस्य हो, तर मलाई महाधिवेशन कहिले हुन्छ भनेर सोध्नुहुन्छ भने मैले ढाट्नु हुन्न, मलाई थाहा छैन,” उनले भने ।

नेता थापाले दसैँपछि महाधिवेशन गर्ने नेतृत्वले भने पनि कुन दसैँको कुरा गरेको आफूले सोचिरहेको बताए । “मलाई डर के छ भने दसैँ त दसैँ कहिलेको दसैँ हो ?,” उनले भने ।

नेतृत्वले वर्षौँदेखि पार्टीलाई विधानसम्मत सञ्चालन गर्न नसक्दा समस्या आएको थापाको भनाइ छ । पार्टीले विधान बनाए पनि त्यसको अस्तित्व स्वीकार गर्न नसक्दा महाधिवेशन अनिश्चित भएको उनले उल्लेख गरे । विधानसम्मत अधिवेशन सकेको साढे तीन वर्षभित्र क्रियाशील सदस्यता टुंगोमा नपुर्‍याउँदा समस्या आएको उनले बताए ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बिनासल्लाह मन्त्रिपरिषद् विस्तार गरेको तर्फ संकेत गर्दै नेता थापाले विधानले मन्त्री बनाउँदा संसदीय बोर्डको बैठक बस्नुपर्छ भने पनि विधानको पालना नगरिएको बताए ।

नेतृत्वले विधानलाई मान्दै नमानेको उनको भनाइ छ । “पार्टी सुधार गर्ने हो भने १४औँ महाधिवेशनमा देशमा संविधान मानेजस्तै पार्टीमा पनि विधान मान्ने परिपार्टी निर्माण गर्ने संकल्प गर्नुपर्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्