Logo
  कार्तिक १, २०७८ सोमबार

मैले रोजेको मन्त्रालय हो, काम गरेर देखाउँछु: रेग्मी



चितवन, २७ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सरकारमा रहँदा काम गरेर देखाउने बताएकी छन् ।

मंगलबार भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रेग्मीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा आफ्नो लामो अनुभव रहेकाले काम गरेर दखाउने बताइन् ।

“अरूले नखोजेको, मैले रोजेको मन्त्रालय हो । म आफूले त रोजेरै आएको हो, यो मन्त्रालयमा । मेरो फिल्ड पनि हो,” उनले भनिन्, “यसमा धेरै समस्याहरू छन् । महिलाका समस्या छन्, जेष्ठ नागरिकका समस्या छन्, बालबालिकाका समस्या छन्, अपाङ्गता भएकाहरूका समस्या छन् । यसमा केही न केही ठोस् काम गर्नैपर्छ ।“

उनले बालबालिकाहरूले छिट्टै कोभिडविरुद्धको खोप पाउने पनि बताइन् । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा छिट्टै बालबालिकाहरूलाई पनि खोभिडविरुद्धको खोप लगाउने व्यवस्था गरिने उनले बताइन् ।

“अहिलेसम्मपनि बालबालिकाले खोप लगाउन पाएका छैनन् । उनीहरूलाई छिट्टै खोप व्यवस्था गर्नेछु,” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्