Logo
  कार्तिक १, २०७८ सोमबार

साफ च्याम्पियनसिप फुटबल: नेपाल फाइनलमा प्रवेश



काठमाडौँ, २७ असोज । नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १-१ को बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो ।

पहिलो हाफमा सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । दोस्रो हाफमा उच्च प्रदर्शन गरिरहेका बंगलादेशका गोलरक्षक अनिसुर रहमानले रातो कार्ड खाएपछि नेपालले खेलमा फर्कने अवसर पाएको थियो । अन्जन विष्टले ८६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गरेका थिए ।

यस बराबरीले नेपालको ४ खेलमा ७ अंक भएको छ । बंगलादेश भने ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ । आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन् । उक्त खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ । बराबरीले भने माल्दिभ्स फाइनलमा पुग्नेछ ।

खेलको आठौं मिनेटमा बंगलादेशले खेलमा अग्रता लियो । सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाए । जमाल भुयाँले बायाँ विंगबाट प्रहार गरेको फ्रिकिक वालमा लाग्दै ६ यार्ड बक्सभित्र अनमार्क रहेका सुमनले गोल गरेका थिए ।

खेलको ७९ औं मिनेटमा बंगलादेशका गोलरक्षक अनिसुरले रातो कार्ड पाए । पेनाल्टी क्षेत्र बाहिर आएर अन्जनको प्रहारलाई हातले रोकेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए । ८२ औं मिनेटमा सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई वैकल्पिक गोलरक्षक अशरफुल रानाले विफल पारे ।

८६ औं मिनेटमा अन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा अन्जनले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्