Logo
  कार्तिक १, २०७८ सोमबार

उपप्रमुख गौतम पुगेपछि माया घरमा आयो दशैँ



सुनसरी, २७ असोज । जताततै दशैँको रौनक छ । घरघरमा दशैँ भित्रिएको छ । तर इटहरी उपमहानगरपालिका-२ को एकैघरका १०२ जनालाई भने अष्टमीको दिन सम्म पनि दशैँ आएको थिएन । न नयाँ नाना थियो, न मासु खाना । १०२ जना सडक मानवलाई आश्रय दिईरहेको इटहरीस्थित माया घरमा स्थानीय सरकार इटहरी उपमहानगरपालिका पुगेपछि मात्र दशैँको आभाष भएको छ ।

उपमहानगरपालिकाको तर्फवाट उपप्रमुख लक्ष्मी गौतम पुगेपछि माया घरमा वल्ल दशैँ आएको छ । अष्टमीको दिन त्यहाँका १०२ जनाका लागि नयाँ लुगा र मासु खानाको व्यवस्थासहित उपमहानगरको तर्फवाट उपप्रमुख गौतम माया घर पुगेकी हुन् ।

उपप्रमुख गौतमले सबैलाई कपडा र खाना दिइन् । उनले सवैजना घरघरमा दशैँको उमंगमा रमाइरहेका वेला माया घरमा आश्रित १०२ जनाका लागि इटहरी उपमहानगरपालिकाले दशैँको अनुभूति गराउने कोशिष गरेको बताइन् ।

माया घरकी सचिव सुभद्रा प्याकुरेलले माया घरमा वल्ल दशैँ आएको प्रतिक्रिया जनाइन् । अपठयारो परेको वेला उपमहानगरको तर्फवाट सहयोग लिएर उपप्रमुख आइरहदा माया घरलाई सजिलो हुने गरेको उनको भनाई छ । माया घरले मानसिक सन्तुलन ठीक नभएर असहाय रुपमा सडकमा वस्न वाध्य महिला तथा वालवालिकालाई आश्रय दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्