Logo
  कार्तिक १, २०७८ सोमबार

बंगाली समुदायले मनायो महाअष्टमी पर्व



झापा, २७ असोज । भद्रपुरमा महाअष्टमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी भव्य रूपमा मनाएका छन् ।

बंगाली समुदायले हरेक वर्ष झैँ यस वर्ष पनि महाअष्टमी पर्व हर्षोल्लासका साथ मनाएका हुन् ।

नेपाल बंगाली समाज र बंगाली युवा क्लबद्वारा भद्रपुर-६ मा आयोजित २३ औं सार्वजनिक दुर्गा पूजास्थलमा व्रतालुहरूले महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी महाअष्टमी पर्व मनाएको आयोजक समितिका संयोजक अमूल्य मण्डलले जानकारी दिए।

बंगाली समुदायका महिला, पुरुष तथा बालबालिकाहरू महाष्टमीमा विशेष पूजाआजा गर्दै खुसी साटासाट गर्ने धार्मिक चलन रहेको छ ।

उनीहरूले आजका दिन व्रत बसी पूजास्थलमा गएर दुर्गा मातालाई विशेष पूजाआजा गरी अञ्जली अर्पण गरेका थिए। महिलाहरू रातो सारीमा सजिएर महाष्टमी पूजा गर्ने चलन छ ।

अघिल्लो वर्ष कोरोना महामारीले सार्वजनिक दुर्गा स्थगन गरिएको थियो । यस वर्ष स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पूजा गर्न अनुमति दिएपछि पूजास्थलमा व्रतालुहरूको उल्लेखनट्यठ उपस्थिति रहेको संयोजक मण्डलले बताए ।

भद्रपुरमा बितेका वर्षहरूमा विभिन्न स्थानमा सार्वजनिक दुर्गा पूजाको आयोजना गर्थ्यो । तर, बिस्तारै सबै सार्वजनिक दुर्गा पूजा बन्द भए पनि बंगाली समुदायले आफ्नो धर्म संस्कृतिको जगेर्नाका लागि यस पूजालाई निरन्तरता दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्