Logo
  मंसिर १९, २०७८ आईतबार

विश्वकप क्रिकेट: आज दुई खेल हुने



काठमाडौँ, १ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको खेलहरुमा आज (सोमबार) दुई खेल हुँदैछन् । दुबईस्थित शेख जायद क्रिकेट स्टेडियममा हुने पहिलो खेलमा आयरल्यान्डले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बाट सुरु हुनेछ । पहिलो चरण अन्तर्गत समूह ‘ए’मा रहेको नेदरल्यान्ड्स आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुने छ ।

यता, आयरल्यान्ड पनि आजको खेलमा जित निकाल्दै प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि बलियो दावेदारी प्रस्तुत गर्ने योजनामा छ ।

त्यस्तै आज हुने दोस्रो खेलमा श्रीलंका र नामिवियाले प्रतिस्पर्धा गर्दैछन् । शेख जायद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बाट सुरु हुनेछ ।

प्रतियोगितामा बलियो मानिएको टोली श्रीलंका सहज जितको खोजीमा हुनेछ । यता, नामिविया श्रीलंकालाई हराउँदै आफूलाई बलियो प्रतिस्पर्र्धीको रुपमा प्रस्तुत गर्ने योजनामा हुनेछ ।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

सुपर–१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन् ।

यस्तै, समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेता यस समूहमा रहने छन् ।

प्रतिक्रिया दिनुहोस्