Logo
  मंसिर १९, २०७८ आईतबार

माओवादी ठूलो पार्टी बन्ने प्रचण्डको दाबीः कति वास्तविक ?



काठमाडौँ, ५ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न जिल्लामा प्रशिक्षण र जनसभाको दौड सक्रिय छन् । जिल्ला स्तरीय प्रशिक्षण र सभामा उत्साहजनक सहभागीताले प्रचण्ड उत्साहित भएका छन् ।

प्रचण्डले जिल्ला दौडाहमा भन्ने गरेका छन्ः आगामी निर्वाचनमा माओवादी पार्टी प्रमुख पार्टी बन्छ, सबै भन्दा ठूलो पार्टी बन्छ । प्रारम्भमा प्रचण्डका यी भनाइलाई सञ्चारमाध्यम, विपक्षी पार्टीले मात्र होइन, माओवादीका नेता कार्यकर्ताले पनि पत्याएनन् । तर, प्रचण्डले माओवादी ठूलो पार्टी बन्छ भन्ने कुरा दोहर्याउन छाडेका छैनन् ।

शान्तिप्रक्रिया पछिको २०६४ सालमा भएको पहिलो निर्वाचनमा नेकपा (माओवादी) पहिलो पार्टी बनेको थियो । माओवादीले त्यसबेला प्रचण्डलाई पहिलो राष्ट्रिपतिको रुपमा प्रचार गरेको थियो । प्रचण्डलाई विपक्षी र मिडियाले भित्ते राष्ट्रपति भनेर उँडाए । तर, जनताबाट माओवादी ठूलो पार्टी बन्यो । प्रथम राष्ट्रपनि नभएपनि गणतन्त्रका प्रथम प्रधानमन्त्री बने । त्यसबेला राजनीतिक दल, विश्लेषक र सर्वेक्षणले अनुमान नगरेको परिणाम माओवादीले ल्यायो ।

स्वयम् माओवादी पार्टीले प्रत्यक्षमा १ सय २० सीट जित्छ भन्ने अनुमान गरेको थिएन । तर, जनताले सबै भन्दा ठूलो पार्टी बनाइदिए । प्रचण्डका पछिल्ला अभिव्यक्तिमा माओवादी पार्टी पुनः त्यस्तै ठूलो पार्टी हुन्छ भन्ने आशय देखिन्छ ।

प्रचण्डले जसरी जनयुद्ध र जनआन्दोलनमा माओवादी पार्टीले खेलको भूमिकाका कारण माओवादी पार्टी ठूलो भयो, त्यसैगरी गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपालिक समावेशीता र त्यसको रक्षाका लागि र केपी ओलीको प्रतिगमन विरुद्ध नेतृत्वदायी भूमिका खेलेका कारण माओवादी पार्टीलाई जनताले पुनः ठूलो पार्टी बनाउँछन् भन्ने प्रचण्डको दाबी छ ।

निर्वाचन मिति घोषणा नभएपनि माओवादीले जिल्ला जिल्लामा गर्ने सभा र प्रशिक्षणमा भएको सहभागीता, माओवादी पार्टी ले लगभग आठ लाख पार्टी सदस्य बनाएको कुराले पनि प्रचण्ड उत्साहित भएका हुन् । तर, प्रचण्डको पहिलो पार्टी हुने निरन्तरको दाबीलाई धेरैले पत्याएका छैनन् । २०६४ को जस्तो भित्ते राष्ट्रपति भनेर गिज्याउने आँटपनि गरेका छैनन् । प्रचण्डका यी भनाइमा कति सत्यता छ ? यसको विश्लेषण गर्न जरुरी छ ।

जनसभा र प्रशिक्षणले ल्याएको उत्साह
नेकपा माओवादीले मंसिर १ गते महोत्तरीमा र ४ गते सर्लाहीमा भब्य सभा सम्पन्न गरेको छ । तराईमा भएका यी दुबै सभामा सहभागीको राम्रो उपस्थिति थियो । भोजपुर, डोल्पा लगायतका जिल्लामा भएका प्रशिक्षण र सभामा पनि उत्साहजनक सहभागीता भएका छन् । प्रतिगमन विरुद्धको आन्दोलन पछि प्रचण्ड सहभागी भएको महोत्तरी र सर्लाहीका सबैभन्दा ठूला सभा हुन् । दुबै सभाको उपस्थितिबाट प्रचण्ड मात्र होइन, माओवादी नेता कार्यकर्तामा उत्साहको सञ्चार भएको छ । माओवादी सभा र प्रशिक्षणले अन्य पार्टीलाई माओवादी कमजोर नभएको सन्देश दिएको छ । प्रचण्डको दाबी पूर्ण सत्य नभए पनि अर्ध सत्य जस्तो भएको छ ।

रौतहटको जनसभामा

सभा र प्रशिक्षणमा प्रचण्डले देश पुनःमाओवादी एजेण्डामा हिँडेको बताउने गरेका छन् । हो, संविधानसभा, धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, समानुपातिक, समावेशीता जस्ता मुद्दा माओवादीले स्थापित गरेका हुन् । तर, यी एजेण्डा माओवादीका हुन् भन्ने कुरामा नयाँ पुस्ता बेखबर छ । नयाँ पुस्ता त यति मात्र जान्दछ, १७ हजार नेपालीको मृत्यु कारण माओवादी हो । अर्थात, माओवादीले जनयुद्धका उपलब्धीलाई संरक्षण गर्न नसक्दा नयाँ पुस्ताको माओवादीमा आकर्षण नभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गरे । त्यसका विरुद्ध तत्कालीन नेकपा भित्रबाट प्रचण्डको तेतृत्वमा सडक आन्दोलन भयो । काँग्रेस अलमलमा पर्यो । संसद विघटन गलत भने पनि निर्वाचन उचित भन्यो । काँग्रेस प्रतिगमन विरुद्ध मझधारमा अडियो । दोस्रो पटक पनि ओलीले संसद विघटन गरेपछि भने काँग्रेसले त्यसका विरुद्ध सक्रियता बढायो ।

यसर्थ, भन्न सकिन्छ कि प्रतिगमन विरुद्धको आन्दोलनको नेतृत्वकर्ता प्रचण्ड, माधव नेपाल लगायत हुन् । त्यसको मुख्य नेता पार्टी माओवादी केन्द्र हो । तर, यो विषय माओवादीले जनतामा अझै स्थापित थर्न नसक्नु अर्को कमजोरी हो ।

महोत्तरीको जनसभा

यद्धपि, प्रतिगमन विरुद्धको आन्दोलनले माओवादी र प्रचण्डप्रतिको नकारात्मक टिप्पणी र आलोचनामा भने कमी आएको छ । माओवादीको बलियो सांगठानिक संरचना नहुँदा संविधानमा भएका उपलब्धी र माओवादीका एजेण्डा स्थापित हुन सकेका छैनन् ।

माओवादी पहिलो हुने आधार के ?
प्रचण्डले दाबी गरे जस्तो माओवादी पार्टी २०६४ सालको जस्तै सबै भन्दा ठूलो पार्टी हुन्छ भन्ने प्रचण्डको भनाइमा सत्यता पाउन सकिने आधार तयार भएको छैन । निम्न आधारलाई विश्लेषण गर्दा माओवादी केन्द्र पहिलो पार्टी आधार बनेको छ भन्न सकिँदैन ।

१. निर्वाचनमा तालमेलः माओवादी पार्टी समानुपातिक निर्वाचनमा काँग्रेस एमाले भन्दा अघि जाने आधार तयार भएको देखिँदैन । प्रत्यक्ष निर्वाचनमा काँग्रेस भन्दा बलियो देखिँदैन । काँग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन कायम रहेको अवस्था माओवादीको केही प्रगति हुन सक्ने देखिन्छ । एमाले विभाजनको सबै भन्दा बढी फाइदा काँग्रेसले लिने हो, त्यपछि मात्र माओवादीले लिने हो ।

काँग्रेसले निर्वाचनमा तालमेल गरेको अवस्थामा एमाले कमजोर हुन्छ भने माओवादी लगायतका दल बलिया हुन्छन् । काँग्रेससँग तालमेल नभए चार दलको तालमेल हुन सक्छ, त्यसबाट पनि केहीहदसम्म फाइदा पुग्न सक्छ । काँग्रेसको बैशाखी टेकेको खण्डमा माओवादी, जसपा, एसलाई बढी फाइदा हुन सक्छ । तर, समानुपातिक मतका आधारमा एमालेलाई माओवादीले जितिहाल्ने आधार तयार भएको देखिँदैन ।

२. माओवादी नेतृत्वको दक्षताः माओवादी केन्द्र केन्द्रमा मात्र होइन, अधिकांश जिल्लामा २०६३ पछि जसले नेतृत्व गरे आजपिन तिनैको निरन्तरता छ । नेतृत्व कार्यकर्ताबाट अनुमोदित हुन नै पाएका छनैन् । नेतृत्व छनोटको मामिलामा माओवादी पार्टीले न त निर्वाचन प्रणली अपनायो, न त लेलिनवादी संगठानात्मक सिद्धान्त नै अपनायो । पार्टी नेतृत्व निर्वाचनका माध्यमबाट गर्ने निर्णय हुन्छ, सर्कुलर पनि जारी हुन्छ । तर, कार्यान्वयन हुँदैन । सहमतिका नाममा अन्तिममा हस्तक्षेप हुने र पुरानै नेतृत्वलाई निरन्तरता दिने कार्यले जिल्ला र स्थानीय तहमा नेतृत्वप्रति आकर्षण कमजोर छ ।

माओवादीमा नयाँ र क्षमता भएकाले नेतृत्व विकास गर्नै पाएका छैनन् । कम्युनिस्ट पार्टीमा क्षमता र कार्यशैलीले ल्याउने परिणामका आधार नेतृत्वले निरन्तरता पाउनु पर्ने हो । तर, माओवादी पार्टीको हालत जतिसुकै कमजोर र परिणाम विहिन् भएपनि नेतृत्व जिम्मेवारी नलिने, त्यसको मूल्यांकन नहुने र नेतृत्व परिवर्तन नहुने अवस्थाले माओवादी पार्टी बलियो र जनआधार भएको पार्टी मान्न सकिन्न । एजेण्ड र नारा सही हुँदैमा पार्टी ठूलो हुने होइन, उचित कार्यनीति र कार्यशैलीको आवश्यक्ता पर्दछ । माओवादी कमजोर कार्यनीति, विचारमा नयाँपन नहुँदा पार्टी बिस्तारमा समस्या भएको हो ।

३.आत्मविश्वासको कमीः प्रचण्ड स्वयम्लाई माओवादी पार्टी पुनः ठूलो पार्टी बनाउन सक्छु भन्ने आत्मविश्वास नभएकै कारण एमालेसँग एकता गरेका हुन् । नितान्त आफूलाई केन्द्रमा राखेर पार्टी एकता गरेकाले नेकपा दुर्घटनामा परेको हो । कार्यकर्ता तहमा वैचारिक छलफलसहित एकता भएको भए सम्भवतः त्यो एकता टिकाउ हुन सक्थ्यो ।

प्रचण्ड र केपी ओलीको दाउपेचमा आधारित नेकपाको एकता भएकाले लामो समय टिक्न सकेन र पुनः विभाजित भयो । एमालेसँगको एकता र विभाजनले एमाले मात्र कमजोर भएन, माओवादी पार्टीका कमिटी झन् शिथिल भए । विभाजनको लामो समयसम्म नयाँ स्प्रिटमा काम नहुँदा माओवादी पार्टीका तल्ला तह बेकामे झुण्डमा रुपान्तरित भए । पछिल्ला केही महिना यता भएका कमिटी गठन, प्रशिक्षण र सभाले मात्र ठूलो पार्टी बन्न सक्ने आधार देखिँदैन ।

४. विधि र विधानको हुर्मतः माओवादी पार्टीमा विधि विधानको सँधै हुर्मत हुने गरेको छ । माओवादीले कमिटीको संख्या निर्धारण गर्दछ तर केन्द्रले नै त्यो पालना गर्दैन, तल्ला कमिटीले पनि त्यही सिको गर्दछन् । जै जै बराजु, सोही सोही नाती भने जस्तै केन्द्रमा प्रचण्डले जसरी निर्णय गर्दछन्, तल्ला कमिटीको नेर्तवमा हुनेले पनि त्यही तरिका अपनाउने गरेका छन् । यो कम्युनिष्ट पार्टी बन्ने प्रक्रिया होइन । यसले थप क्षति पूर्याउँछ ।

५. रुपान्तरणमा कमजोरः माओवादी केन्द्रले अबको यात्रा समाजवाद भनेको छ । तर, पार्टीको कार्यदिशा त्यस अनुसार निर्माण हुन सकेको छैन । न त विचार निर्माणमा अब्बल छ, न त नेता कार्यकर्ताको सोँच र शैली नै रुपान्तरण हुन सकेको छ । दिशाहीन कार्यदिशा र शैलेले ठूलो पार्टी बन्ने सम्भावना हुँदैन । कार्यदिशा र कार्यनीतिमा रुपान्तरण, त्यस अनुसारको पार्टी कमिटी र कार्यकर्ता तयार नभएसम्म ठूलो पार्टी बनिहाल्छ भन्न सकिन्न ।

अतः संक्षेपामा भन्नुपर्दा माओवादी पार्टीको तल्लो तहमा पार्टी निर्माण र क्रियाशील हुन नसक्दा नागकिरसँगको सम्बन्ध टुटेको छ । यसले समग्र पार्टी बिस्तारमा माओवादीलाई समस्या भएको छ । केही जिल्ला र क्षेत्रमा माओवादी पार्टीको जनविश्वास थोरबहुत बचेको छ भने अधिकांश शहरी क्षेत्रमा २०६४ को जनविश्वास गुमेको छ, त्यो आर्जन गर्न नसकेसम्म ठूलो पार्टी बन्न सक्ने देखिँदैन । त्यसका लागि पार्टी र संगठन निर्माण नै मुख्य सवाल हो ।

प्रतिक्रिया दिनुहोस्