Logo
  माघ ८, २०७८ शनिबार

ओली समूहद्वारा आचारसंहिता उलंघन, सूचीमा नपरेका उम्मेद्वारलाई मत नहाल्न प्रचार



चितवन, १४ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा नेतृत्व छनोटमा सर्वसम्मत हुन नसकेपछि मतदान सुरु भएको छ । एमालेले निर्वाचनमा समूह बनाउन नपाइने नीति बनाइएको थियो । तर, ओली समूह नै अहिले निर्वाचनमा समूहगत प्रचारमा ओर्लिएको छ । ओली समूहले कसलाई भोट हाल्ने र कसलाई नहाल्लने भन्ने सूची सार्वजनिक गरेका छन् । प्रतिनिधिबीच त्यो सूची बाँडेका छन् ।

एमालेको केन्द्रीय निर्वाचन आयोगले आठ बुँदे निर्वाचन आचारसंहितामा प्यानलको प्रचार गर्न नपाइने उल्लेख छ । आचारसंहितामा व्यक्तिगत रुपमा बाहेक समूहगत रुपमा प्रचारप्रसार गर्न, प्रचार सामग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न वा नामावली बाँड्न नपाइने उल्लेख छ । तर ओली समूह प्यानमा मत मागिरहेका छन् ।

मतदातालाई बाँडिएको सूचीमा ओलीको विपक्षी अध्यक्ष उम्मेद्वार भीम रावल, ओलीले बन्दशत्रमा प्रस्ताव गरेको सूचीमा नपरेका उपाध्यक्षका उम्मेद्वार घनश्याम भसाल, सचिवका उम्मेद्वार भीम आचार्य, टंक कार्की, केन्द्रीय सदस्यका उम्मेद्वार भाष्कर काफ्ले, मिरा खनाल, पशुपति कुँवर, मञ्जु मलासी, नरबहादुर विक, जयप्रकाश थारु र भरत साउदलाई मत नहाल्ने सूची रहेको छ । सार्वजनिक गरिको उम्मेद्वारको नाममा मत नहाल्ने नाममा क्रस गरिएको छ भने हाल्नु पर्ने नाममा राइट गरिएको छ ।

एमालेको आठौं र नवौं महाधिवेशनमा भएको समूहगत निर्वाचनले पार्टी गुट संस्थागत भएको मूल्यांकन गर्दै समूहगत रुपमा निर्वाचन लड्न नपाइने निर्णय गरेको थियो । तर, ओली समूहका नेताले नै त्यो निर्णय विरुद्ध प्रचार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्