Logo
  माघ ८, २०७८ शनिबार

ओली सरकारमा ‘हाँसोका पात्र’ बनेका मन्त्री आले देउवा सरकारमा ‘वाही वाही’



काठमाडौँ, २४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा वन मन्त्री रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आले अहिले सर्वत्र चचौमा छन् ।

वन मुद्दा खेपेका व्यक्तिलाई ओलीले वन मन्त्री बनाएको भनी आलोचना भएको थियो । त्यही समयमा मन्त्री आलेले एक सार्वजनिक कार्यक्रममा वनको महत्व दर्शाउने अभिव्यक्ति दिए । उनले रुखले अक्सिजन र मानिसले कार्वन फाल्छ भन्नु पर्नेमा, रुखले कार्वनडाइअक्साइड र मानिसले अक्सिजन फाल्ने बताएका थिए । गलत अभिव्यक्ति दिँदा त्यसबेला वन मन्त्री रहेका आलेको त्यो भिडियो ट्रोल भयो ।

सामाजिक सञ्जालमा मन्त्री आलेलाई उँडाउनुसम्म उँडाइयो । उनलाई कार्वनडाइअक्साइड मन्त्री भन्न थालियो । उनी हाँसोका पात्र मात्र बनेनन्, ओली सरकारको आलोचनाका लागि मन्त्री आलेको अभिव्यक्ति राम्रो अस्त्र बन्यो । त्यसबेला ओलीले सरकार पुर्नगठन गर्दा आलेलाई वन मन्त्री बनाएका थिए ।

त्यसबेला ओलीले दोस्रो पटक संसद विघटन गरेका थिए । नेकपा विभाजन भएर एमाले र माओवादी छुट्एिका थिए । एमालेमा ओली पक्ष र माधव नेपालको विवाद उत्कर्षमा थियो । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावमा एमालेका नेपाल पक्षका सांसदले पनि हस्ताक्षर गरेका थिए ।

त्यसबेला मन्त्री आलेको आलोचना कार्वनडाइअक्साइडमा मात्र रोकिएन । निजी खर्चमा दुर्गम जिल्लामा पठाएको अक्सिजन सिलिण्डरको शौजन्यमा उनको तस्बिर राखेकोमा खुव आलोचना भयो । तत्कालीन प्रधानमन्त्री, उनी पक्षीय एमालेका नेता, मन्त्रीले आलेको गतिविधिबाट नाजवाफ थिए ।

नेकपा एमाले अन्ततः विभाजित हुने अवस्थामा आले, किसान श्रेष्ठ लगायतका आठ सांसदले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरे । एकीकृत समाजवादीका पक्षमा उभिएपछि भने आलेको आलोचना कम हुन थाल्यो ।

सर्वोच्च अदालतको परमदेशबाट शेरबाहदुर देउवा प्रधानमन्त्री भए । देउवाको बिस्तारित मन्त्रिपरिषद्मा आले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बनेका हुन् । उनले मन्त्री हुने बित्तिकै विमानस्थलको एक कार्यक्रममा हवाईजहाज घाममा सुकाएर पैसा आउँदैन भन्ने अभिव्यक्ति दिए । उनले नेपाल एयरलाइन्स जहाज चालाउनु पर्ने अडान लिए । र, नेपाल एयरलाइन्स निजीकरण गर्ने प्रस्तावको विपक्षमा उभिए ।

मन्त्री आलेको हवाईजहाज घाममा सुकाएर पैसा आउँदैन भन्ने गाउँले पारको अभिव्यक्ति समाजिक सञ्जालमा छायो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यसले राम्रै प्रचार भएपछि मन्त्री आले लोकप्रिय कामका लागि हौसिएका हुन् ।

बतास समूहले नारायणहिटी दरबारमा निर्माण गरेको रेष्टुरेन्ट भत्काउने कार्यले मन्त्री आले लोकप्रियताको शिखरमा छन् । समाचार आउने बित्तिकै निर्माण कार्य रोक्न दिएको निर्देशन, छानवीन समिति गठन र तीन दिन भित्र संरचना नभत्काए आफैँ भत्काइ दिन्छु भनी दिएको अभिव्यक्ति सर्वत्र चर्चामा छ । आलेले भत्काउन दिएको चेतावनीको पहिलो दिन नै बतास समूहले संरचना भत्काएको छ ।

मन्त्री आले बतास मूहका विरुद्ध नारायणहिटी दरबारमा मात्र सीमित छैनन् । बतास समूहले संचालन गर्दै आएको नेपाल-भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा पनि छानवीन गर्न समिति गठन गराएका छन् । मन्त्री आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषको मातहतमा रहेको पशुपति धर्मशालाको छानवीन गरी सातदिनमा प्रतिवेदन पेस गर्न मन्त्रालयले समिति गठन गरेको हो ।

पशुपति दर्शनमा आउने तीर्थालु र धार्मिक पर्यटकको सुविधाका लागि भारत सरकारको सहयोगमा धर्मशाला बनेको हो । तर, यो धर्मशालालाई बतास समूहले भाडामा लिएर होटल सञ्चालन गर्दै आएको छ ।

पर्यटन मन्त्री आलेले हायत होटलको जग्गा पनि फिर्ता लिने भन्दै सक्रिय भएका छन् । उनले मन्त्रालयबाट हायत होटलको छानवीन थालेका छन् । कूल ३०४ रोपनी मध्ये १५० रोपनी हायत होटल हत्याइसकेको छ भने १४८ रोपनी जग्गा कौडीको मूल्यमा भाडामा लिएको छ । हायत स्थापना, संचालनदेखि जग्गा हस्तान्तरणसम्म लगयतका विषय विवादित बन्दै आएको छ । मन्त्री आलेले हायत होटलको विवाद सल्टाएर जग्गा फिर्ता लिई छाड्ने प्रतिवद्धता व्यक्ति गरेका छन् । मन्त्री आलेले सगरमाथा बेस क्याम्पको जग्गा पनि फिर्ता लिने तयारी थालको मन्त्रालयले जनाएको छ ।

मन्त्री आले सरकारी सम्पति बतास समूहले कहाँ कहाँ भाडामा लिएको छ भनेर खोजी गर्ने छानवीन गर्ने अभियानमा छन् । बतास समूह एमाले अध्यक्ष ओलीसँग निकट रहेको बताइने गरेको छ । उनले बतास समूह लखेटने कार्यमा नागरिकले समर्थन गरेका छन् ।

पर्यटनमन्त्री आले केही साहसी काम गरेर नाम कामउने अभियानमा रहेका छन् । नारायणहिटी दरबारमा बतास समूहले निर्माण गरेको रेष्टुरेन्टको संरचना भत्काउन एक्सनमा उत्रिएसँगै मन्त्री आले चर्चाको शिखर छन् । सामाजिक सञ्जालमा मन्त्री आलेको चर्चा चुलिएको छ । उनीप्रति सकारात्मक टिप्पणी हुने गरेको छ ।

सामाजिक सञ्जालमा एक्सनमावाला मन्त्री’, ‘मन्त्री हुनु पर्छ त आले जस्तो’, ‘आले जस्ता आँट भएका मन्त्री भए केही हुन्छ’, ‘गलत मान्छेको संगतले अघिल्लो सरकारमा गलत काम गरेका रहेछन्’, ‘ओलीको संगतमा जो गयो, त्यही बिग्रन्छ, माधव नेपालको संगतले सप्रन्छ’ जस्ता टिप्पणी भएका छन् । उनको चर्चाको ग्राफ उकालिएको छ ।

ओली सरकारमा दुर्नाम कमाएका आले देउवा सरकारमा वाहीवाही कमाउँदै छन् । सञ्चारमाध्यम र समाजिक सञ्जाल दुबैमा मन्त्री आलेको राम्रै कभर भएको छ । ओली सरकारमा बदनाम आले, देउवा सरकारमा साहसिला मन्त्री भएका छन् । उनले प्रधानमन्त्री देउवा, पाँच दलीय गठबन्धन र नेकपा एकीकृत समाजवादीको इज्जत राखेको टिप्पणी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्