Logo
  माघ ८, २०७८ शनिबार

३ लाखका लागि पत्रकार महासंघको दुरुपयोग, नेतृत्व क्षमतामा प्रश्न



काठमाडौँ, २४ पुस । ड्रिम हाइ नेपाल नामको व्यावसायिक संस्थाले शनिबार बाँड्ने नेपाल मिडिया अवार्डको विषयमा नेपाल पत्रकार महासंघ विवादमा परेको छ । महासंघको लोगो बेचेर मिडिया अवार्डका नाममा लाखौँ चन्दा असुली धन्दा चलाउने ड्रिम हाइ नेपालको पछि लाग्दा महासंघ विवादमा परेको हो । नागरिक समाज, पत्रकार र सञ्चारमाध्यमले पत्रकार महासंघको भूमिकामा प्रश्न उठाएपछि महासंघले अन्तिम अवस्थामा कार्यक्रममा संलग्नता नहुने भन्दै विज्ञप्ति जारी गरेको छ ।

सचिव सिर्जना अर्यालले शनिबार जारी गरेको विज्ञप्तिमा मिडिया अवार्डबाट महासंघ अलग भएको भनिएको छ । तर, महासंघका आधिकारिक व्यक्ति नै संलग्न हुने कुराले महासंघ आफैँ विवादमा परेको छ । महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीले फेसबुकमा महासंघको संलग्नता उचित नहुने भन्दै व्यक्तिगत धारणा सार्वजनिक गरेका छन् । उनीहरुले अवार्डप्रति असहमति प्रकट गरेका छन् ।

पत्रकार महासंघको लोगो र नामको दुरुपयोग गरेर लाखौँ चन्दा असुली धन्दामा संलग्न ड्रिम हाइ नेपालको सहयोगी महासंघका पदाधिकारी कै संलग्नता हुने कुरा आश्चर्यजनक छ । सरकारले दिने अनुदान, विभिन्न कार्यक्रम, सदस्यता शुल्क लगायतबाट संचालन हुँदै आएको महासंघ व्यापारीक संस्थाका लागि चन्दा माग्दै हिँड्नु सुहाउने कार्य होइन ।

तीन लाख रुपैयाँका लागि महासंघको लोगो दुरुपयोग हुने कुराले महासंघको प्रतिष्ठा कमजोर मात्र भएको छैन, बद्नामी कमाएको छ । महासंघले देशभरका सदस्यसँग आह्वान गरेको भए तीन लाख होइन, तीस लाख संकलन हुन सक्दथ्यो । यस्ता संस्थासँगको सहकार्यले महासंघको स्वाभिमानमा ठेस पुगेको छ ।

पत्रकार महासंघले कस्ता पुरस्कार स्वीकार गर्ने, कस्ता पुस्कारमा संलग्न हुने, पत्रकारका लागि कुन पुरस्कार उचित हुन्छ भन्ने कुरा मापदण्ड बनाउनु पर्छ । जुनसुकै पुरस्कारमा हुने संलग्नता र स्वीकार्यले पुरस्कारका नाममा विक्रिती बढेको छ । पत्रकार र पत्रकारिता भन्दा बाहिरका विषयमा महासंघको संलग्नताले पत्रकारितालाई नोक्शान गर्दछ ।

सामाजिक सञ्चालमा महासंघका पदाधिकारीको व्यक्तिगत धारणा उल्लेख हुने कुराले महासंघ कति तदर्थवादबाट संचालन भएको रहेछ भन्ने प्रस्ट हुन्छ । त्यसमा पनि कुनै संस्थासँग सम्झौता गर्दा महासचिव वा सचिवले गर्नु पर्नेमा कोषाध्यक्षको प्रयोग हुने कुरा लाजमर्दो विषय हो । नेपाल पत्रकार महासंघ पत्रकारको छाता संस्था भएकाले ड्रिम हाइ नेपालका संचालकसँग महासंघका कुनै पदाधिकारीको व्यक्तिगत सम्बन्ध भएकै आधारमा महासंघको दुरुपयोग हुने विषय गलत छ ।

ड्रिम हाइ नेपाल नामको व्यावसायिक संस्था मिडियासँग सम्बन्ति संस्था पनि होइन । अरुको लागो प्रयोग गरेर नाफा कमाउन र स्थापित हुन खोज्ने यस्ता संस्थाको पछि लाग्ने पत्रकार महासंघको नेतृत्व अयोग्यताको यो भन्दा अर्को प्रमाण नै के हुन्छ ? पत्रकार महासंघले कस्ता संस्थासँग सम्बन्ध राख्ने, कस्ता कार्यक्रममा संलग्न हुने, कोसँग सहकार्य राख्ने भन्ने कुरा खुट्याउन नसक्नु नेतृत्वको अर्को अयोग्ता हो ।

पत्रकार महासंघको आफ्नै मूल्य, मान्यता र गरिमा छन् । महासंघको मर्यादा र गरिमा बढाउने अरुले होइन, स्वयम् महासंघको नेतृत्वको भूमिकाले हो । तर, महासंघको नेतृत्व पटक पटक विवादमा आउने कुराले नेपाली पत्रकारिताको आन्दोलन र सामाजिक रुपान्तरणको आन्दोलन कमजोर हुन्छ । महासंघमा निर्वाचित हुने नेतृत्वले देशभरका १४ हजार सदस्यको मात्र होइन, सदस्य नरहेका पत्रकारको पनि मर्यादाको ख्याल गर्नु पर्दछ । पत्रकार महासंघको नेतृत्व छनोट प्रक्रिया लोकतान्त्रिक छ । तर, बन्द कोठाबाट हुने उम्मेदवार छनोट प्रक्रियाको दुस्परिणाम पत्रकार महासंघले व्यहोर्नु पर्दैछ ।

नेतृत्वले गरेका कार्यले पत्रकार महासंघ विवादमा परेको घटना यो पहिलो होइन, यस अघि पनि प्रेस काउन्सिल नेपालमा नियुक्ति प्रयोजनका लागि संचार मन्त्रालयमा गरिएको सिफारिस पनि विवादित भएको थियो । महासंघको अभिलेख भन्दा भिन्न सिफारिस गर्दा महासंघ विवादमा परेको थियो । एक पटक भएका गल्तीबाट महासंघको नेतृत्वले सिक्नु पर्ने हो । तर, गल्तीबाट सिक्ने छाँट महासंघ नेतृत्वले देखाएको छैन ।

माथिका घटनाले पत्रकारको छाता संस्थालाई व्यक्तिगत कम्पनीमा रुपान्तरण गर्ने अभ्यास हुन थालेको संकेत गर्दछ । पत्रकार महासंघ आयआर्जन गर्ने वा कुनै व्यक्तिगत सुखः सुविदा प्राप्त गर्ने संस्था पनि होइन । पत्रकारको हक अधिकारको लागि संघर्ष गर्ने, बोल्ने संस्था हो । पत्रकार र पत्रकारिता भन्दा बोहेको क्षेत्र महासंघको मुख्य क्षेत्र होइन ।

ड्रिम हाइ नेपाल नामक व्यावसायिक संस्थासँगको सहकार्यको विषय महासंघको आन्तरिक विवादको विषय बनेको छ । नेतृत्वको फरक फरक धारणा सार्वजनिक हुने कुराले महासंघको विवाद सतहमा आएपछि महासंघले केन्द्रीय समितिको बैठक आह्वान गर्नु पर्ने अवस्था आएको छ । महासंघले श्रमजीवी पत्रकारका मुद्दा, कोभिडका कारण सञ्चारमाध्यमका भएको क्षति, कोरोनाको ओमिक्रन भेरियन्ट लगायतका विषयमा बहस केन्द्रित गर्नु पर्नेमा व्यापारिक संस्थाको पुच्छर भएर हिँड्ने असान्दर्भिक कार्यले क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्