Logo
  माघ ८, २०७८ शनिबार

लिभरपुल आर्सनलसँग बराबरीमा रोकियो



काठमाडौँ, ३० पुस । दश खेलाडीमा सीमित भएको आर्सनलले बिहीबार राति लिग कपको पहिलो लेगमा लिभरपुललाई गोलरहित बराबरीमा रोकेको छ ।

लिभरपुलले घरेलु मैदान एनफिल्डमै आर्सनल दश खेलाडीमा सीमित भएको फाइदा लिन असफल रह्यो । आर्सनलका ग्रान्ट जाकाले २४औं मिनेटमा रातो कार्डको सामना गरेका थिए । त्यसपछि बाँकी समय आर्सनलले दश खेलाडीमा रहेर खेलेको थियो ।

लिभरपुलका स्टार फरवार्ड मोहम्मद सालाह र सडियो माने अफ्रिकन कप अफ नेसन्स खेल्न गएका छन् । सालाह र माने नभएको खेलमा लिभरपुलले आर्सनलको रक्षापंक्ति तोड्न सकेन । चोट र खेलाडी अन्तर्राष्ट्रिय विदामा गएकोबाट पीडित आर्सनललाई अझ पीडा थपिएको छ । सेड्रिक सोएरेस र बुकायो साकालाई पनि चोट लागेको छ ।

एफए कपको तेस्रो चरणमा दोस्रो श्रेणीको क्लब नटिङ्घम फोरेष्टसँग पराजित भएपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा सजक बनेका थिए । आर्सनलका रक्षक बेन ह्वाइट र गाब्रियलले उत्कृष्ट प्रदर्शन गरे ।

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले दुई लेगको खेल भएका कारण यो पहिलो हाफजस्तो भएको बताएका छन् । उनले थपे, ‘‘यो दुई लेगको खेल हो । पहिलो हाफको यो गोलरहित बराबरीलाई म लामो समयसम्म सम्झन चाहन्न । हामीलाई धेरै मौका छैन । दोस्रो हाफमा हामी सही नतिजा निकाल्छौं ।’’

लिभरपुलले ७८ बल पोसेसन राखे पनि विपक्षी पोष्टमा एकमात्र गोलको राम्रो अवसर सिर्जना सकेको थियो । त्यो पनि दोस्रो हाफको अन्तिम समयमा सम्भव भएको थियो ।

‘‘मलाई लाग्छ, हामीले दृढता, मनोवृत्ति र भातृत्वका साथ राम्रो लडाई गर्यौं,’’ आसर्नलका प्रशिक्षक आर्टेटाले भने, ‘‘हाम्रो स्वभाविक खेल यो होइन । तर, हामीले खेल्नुपर्ने खेल खेल्यौं ।’’

प्रतिक्रिया दिनुहोस्