Logo
  माघ ८, २०७८ शनिबार

आयोगले तोकेभन्दा बढी शुल्क लिन नपाउने



काठमाडौँ, ३० पुस । सरकार र मेडिकल कलेजका सञ्चालकबीच पाँच बुँदे निर्णय भएको छ ।

मेडिकल कलेजले लिइरहेको अतिरिक्त शुल्कका विषयमा विवाद समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज भएको छलफलमा विभिन्न पाँच बुँदे निर्णय भएको हो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलसमेत सहभागी छलफलमा चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, विद्यार्थी र अभिभावक सहभागी थिए । छलफलबाट पाँच बुँदे निर्णय भएको हो ।

आयोगले तोकेको भन्दा बढी शुल्क नलिने, विद्यार्थीको छात्रावास सम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्था तथा अभिभावक एवम् विद्यार्थीहरुबीच आपसी छलफल गरी सहमतिमा निरुपण गर्ने, एकीकृत प्रवेश परीक्षा प्रणालीमा चिकित्सा शिक्षा आयोगले आवश्यक संशोधन प्रक्रिया अगाडि बढाउनेलगायतका निर्णय भएका शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले बताए ।

काठमाडौँ मेडिकल कलेज र नोबेल कलेजले अतिरिक्त शुल्क तिर्न दबाब दिएको भन्दै विद्यार्थीहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्