Logo

समाजसेवीका नाममा फस्टाएको मानवतस्करी



भिजिट भिसासम्बन्धी अहिलेको प्रावधानलाई कडा बनाउनु पर्ने “भिजिट भिसा कार्यविधिरनिर्देशिका” प्रस्ताब गर्नुका पछाडिको मूल ध्येयचाहिँ सामान्य सोधपुछ पनि नगरी तस्करहरूलाई लाखौ रूपैयाँ बुझाउएर विदेश जान मरिहत्ते गर्ने नेपालीलाई मानव तस्करबाट जोगाउनु हो । तर जसरी पनि विदेश जान आसक्त नेपालीलाई जोगाउन धेरै गाह्रो किन छ भने उनीहरूलाई तस्करी गर्न सक्रिय मानिशहरू समाजसेवीको मुखौटो लगाएर सबैजसो पार्टीका नेताको वरिपरि घुमेर तिनको दुरूपयोग गर्छन् ।

घटना १ – आकर्षक जागिरको प्रलोभनमा दुबईमा नेपालीको बिचल्ली
गत पुसको तेस्रो साता एउटा अनलाइनले संयुक्त अरब इमिरेट्सको दुबईमा बसेर कोमलराज उपाध्यायले नेपालबाट मानवतस्करी गरेको भन्दै लगातार समाचार प्रकाशित गर्‍यो । समाचारमा भिजिट भिजामा सेटिङ मिलाएर नेपालीहरूलाई दुबई लैजाने र त्यहाँ बिचल्ली पारिने गरेको विषय उठाइएको थियो ।

२र३ वटा समाचार लगातार प्रकाशित भएपछि उपाध्याय दुबईबाट तत्काल नेपाल आए र अर्कै सञ्चारमाध्यममा काम गर्ने एक पत्रकारलाई आफूलाई सहयोग गर्न आग्रह गरे । आफूले कुनै गल्ती नगरेको भन्दै उपाध्यायले आफूविरुद्धको समाचार झुटो रहेकाले प्रेस काउन्सिलमार्फत त्यसको प्रतिवाद गर्न सहयोग गरिदिन आग्रह गरेका थिए ।

कोमलराज उपाध्याय
उपाध्यायले आफूले कुनै हालतमा गल्ती नगरेको बताएपछि ती पत्रकारले प्रेस काउन्सिललाई पत्र लेखिदिए र उक्त समाचारको खण्डनसमेत मिलाएर लेखिदिए। उपाध्यायको निवेदनका आधारमा खण्डन प्रकाशित गर्न उक्त अनलाइनलाई काउन्सिलले पत्र काट्यो । खण्डन प्रकाशित गर्नुको साट्टो अनलाइनले उपाध्यायलाई नै दोषी देखाउने थप भिडियो सामग्रीसहितको समाचार लेख्यो ।

उक्त भिडियो सामग्रीमा देखाइए अनुसार उपाध्यायले दुबईमा आफूले बिचल्ली पारेका नेपालीहरूलाई पिटेका थिए । त्यसपछि उपाध्याय दुबईमै प्रहरीको नियन्त्रणमा परे । प्रहरी नियन्त्रणबाट छुटेपछि उपाध्यायले आफू अझै निर्दोष भएको भन्दै आफूलाई प्रेस काउन्सिल जान सहयोग गरेका पत्रकारलाई समाचारमार्फत नै बाहिर आएका समाचारहरू झुटो भएको लेखिदिन आग्रह गरे । तर यसपटक ती पत्रकारले उपाध्यायको नियत बुझिसकेका थिए । पत्रकार सम्पर्कविहीन भए ।

त्यसपछि दुबईमै काम नपाएर बिचल्लीमा परेकाबारे कान्तिपुरलगायत अन्य ठूला सञ्चारमाध्यमहरूले पनि विषय उठान गरेपछि यो श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’को कानमा पुग्यो । १३ माघमा मन्त्री श्रेष्ठले भिजिट भिसामा दुबई पुगेर बिचल्ली भएपछि फर्किएका नेपालीलाई सार्वजनिक गर्दै पत्रकार सम्मेलन गरे । उनले मानव तस्करलाई पानीमुनी गएपनि नछोड्ने धम्की दिए ।

११ माघमै ‘भिजिट भिसा’ प्रयोग गरी दुबईलगायत खाडी मुलुकमा गई भोग्नु परेका कठिनाई र समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको थियो । समितिले आफ्नो काम गरिरहेको समितिका सदस्यहरू दाबी गर्छन् ।

उपाध्यायले आकर्षक रोजगारीको प्रलोभन दिएर १ सय १८ नेपालीलाई भिजिट भिजामार्फत दुबई बोलाएका थिए । तीमध्ये ४ दर्जन भन्दा बढी युवा नेपाली सेनाको जागिर छोडेर दुबई गएका थिए । उपाध्यायले दुबईमा त्रिनेत्र कन्सल्टेन्सी चलाउँछन् । उनीसहित अन्य दलालहरु खगेन्द्र लम्साल, राजन ठकुरी, भुपेन्द्र बोहोरा, आदित्य रसाइली, होम बहादुर खड्का, सिम्रन रसाईली सबैले युवाहरूलाई महँगो रकम लिएर दुबईमा काम लगाइदिने आश्वासन दिंदै र्‍याकेट नै चलाएका थिए । उनीहरूले प्रतिव्यक्ति २ लाख देखि आठ लाख रूपैयाँसम्म असुल्ने गरेका थिए ।

दुबईमा बिचल्लीमा परेर नेपाल फर्किएकाहरूले अझैसम्म त्यतिबेला आफूबाट असुलिएको रकम फिर्ता पाउन सकेका छैनन् । उनीहरू नेपालमा रहेका दलालहरूलाई रकम फिर्ता गरिदिन ताकेता गर्ने गर्छन् तर स्थानीय दलालले उपाध्यायले सबै पैसा लगेकाले आफूसँग फिर्ता गर्ने पैसा नभएको बताउने गरेका छन् । कतिपय दलालहरू फोन स्वीच अफ गरेर सम्पर्कविहीन भएका छन् ।

घटना २ – दुबईबाटै युक्रेन र न्यूजिल्याण्डको नक्कली भिसा
न्यूजिल्याण्ड र युक्रेनको नक्कली भिसा देखाएर दुबई बस्ने प्रदीप ठकुरीले विदेश जान चाहने ४ जनाको करीब ५ लाख र पासपोर्ट गायब बनाए । ठकुरीले सुनसरीका मुरारी तिमिल्सिना, सिन्धुपाल्चोकका राजन आचार्य, माधव राज न्यौपाने र सुजन आचार्यसँग न्यूजिल्याण्ड र युक्रेन पठाइदिन्छु भन्दै ४ लाख ८० हजार र पासपोर्ट गायब बनाइदिएका छन् । प्रहरी प्रशासनमा गएर उजुरी गरेमा जिन्दगी खतम (लाइफ ‍ड्यामेज) गरिदिने धम्कीसमेत ठकुरीले दिने गरेको पीडितको गुनासो छ ।

बर्दियाका ठकुरीले पहिला न्यूजिल्याण्डको नक्कली भिजा बनाएर त्यसपछि पीडितहरूसँग पैसा असुलेका थिए । दुबईमै रहेका ठकुरीले नेपालटारमा मासुपसल गर्ने वसिम खानमार्फत पैसा लिएका हुन् । भिजा नक्कली रहेको आशंकापछि पीडितहरूले अनलाइनबाट आफ्नो भिजा चेक गरेका थिए। त्यसपछि त्यो नक्कली रहेको पुष्टि भएको थियो ।

पैसा उठाउन खानलाई प्रयोग गरेका ठकुरीले पासपोर्ट भने गायक खेमराज तिवारीलाई लिन लगाएका थिए । तिवारीले गत गात्तिक ९ गते चारैजना पीडितको पासपोर्ट लिएर गए । ‘प्रदीपले फलानोलाई पासपोर्ट दिनुस भनेपछि हामीले खेमराजलाई दियौं। तर त्यसपछि तिवारी सम्पर्कमा छैनन्,’ तिमिल्सिनाले भने ।

भिजा नक्कली भएको थाहा नपाएका तिमिल्सिना र अन्य पीडितले गत असारमा खानलाई पैसा दिएर २ लाख ७० हजार रूयैयाँ बराबरको चेकसमेत लिएका थिए । तर भिजा नक्कली भएको थाहा पाएपछि पटक(पटक ताकेता गर्दा पनि बैंकमा पैसा आएन । अहिले पीडितहरू चेक बाउन्स गरेर बैंकिङ कसूरसम्बन्धी मुद्दा लडिरहेका छन् ।

ठकुरीले पहिला तीन महिनाभित्र न्यूजिल्याण्ड जान पाउने भन्दै खानमार्फत पैसा असुलेका थिए । तर भिसा नै नक्कली भएपछि जान पाउने कुरै भएन । त्यसपछि ठकुरीले युक्रेनमा सेटिङ मिलेको भन्दै नयाँ डकुमेन्ट (दस्ताबेज) पठाए।

उक्त दस्ताबेज सक्कली नक्कली के हो भनेर अध्यागमन पुगेका पीडितलाई भारतमार्फत काम हुने भएकाले त्यहीं बुझ्न पठाइयो । भारतस्थित युक्रेनी दूतावासमा इमेलमार्फत सम्पर्क गर्ने कोशिस गरेपनि पीडितहरूले जवाफ पाएनन् । ठकुरी मानवतस्करी र हुण्डी कारोवारमा पनि मुछिएका व्यक्ति रहेको पीडितहरूले बताएका छन् ।

घटना ३ – एनआरएनए कै नेताहरू तस्करीमा संलग्न
रमेश श्रेष्ठ
गैरआवासीय नेपालीहरूको संगठन (एनआरएनए) संयुक्त अरब इमिरेट्सको अध्यक्षसमेत रहिसकेका स्याङ्जाका रमेश श्रेष्ठले पनि दुबईमा जीसीडी एच आर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सी चलाउँछन् । सोझा साझा नेपालीलाई अष्ट्रेलिया लैजाने भन्दै ठगीमा मुछिएका व्यक्ति श्रेष्ठ पनि हुन् ।

उनको कन्सल्टेन्सीले जुन १५, २०२० मा एक विज्ञापन गर्दै अष्ट्रेलियाको डार्बिन पोर्टमा ट्रली ब्वाई र ल्यान्ड पोटरको लागि ६ जना नेपालीहरुलाई छनौट गरेका थिए । श्रेष्ठले छनोट भएकाहरू तीन महिनाभित्र अष्ट्रेलिया पुग्ने र काम पाउने भन्दै प्रतिव्यक्ति ३ हजार युएई दिर्हाम लिए । ३६ हजार दिर्हाम अर्थात नेपाली झन्डै १२ लाख रुपैयाँ आएपछि दिनुपर्ने शर्तसहित उक्त रकम श्रेष्ठले हत्याएका थिए । तर अचम्मको कुरा के भने कोभिडका कारण त्यतिबेला अष्ट्रेलियाले आफ्नो देशमा विदेशी नागरिक आउन प्रतिबन्ध लगाएको थियो ।

पीडित काजीमान बुढाथोकीले त्यतिबेलै अष्ट्रेलिया जाने सपना साकार गर्न भन्दै श्रेष्ठले तोकेको व्यक्ति ठक्करबहादुर कार्कीको एकाउन्टमा म्याग्दीको बेनी शाखामा ५ लाख नेपाली रुपैयाँ जम्मा गरिदिए ।

बैंकमा रकम जम्मा गरिदिएपछि श्रेष्ठले अष्ट्रेलियामा लकडाउन भएको भन्दै थप समय लाग्ने बताउन थाले। अनि पछि अष्ट्रेलिया नै बन्द भएकाले काम हुन नसकेको भन्दै पीडितलाई जिल्ल्याउने काम गर्दै आएका छन् श्रेष्ठले ।

श्रेष्ठलाई कारवाही गर्नुपर्ने भन्दै दुबईमै रहेका पीडितहरूले यतिबेला श्रेष्ठ र उनको कम्पनीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै दूतावासमा निवेदन र धर्नासमेत दिएका छन्। तर उनीविरुद्धको कारवाही अघि बढ्न सकेको छैन । श्रेष्ठ नेपाल एसोसियसन युएईका अध्यक्ष हुन्। युएईमा रहेको नेपाली संस्थाकै अध्यक्ष रहेका श्रेष्ठ मानवतस्करी र ठगीको आरोपमा मुछिएका एकमात्र व्यक्ति भने होइनन् ।

सबैलाई नेपाल झिकाउन सकिएला ?
भिजिट भिसामा दुबई गएर युवाहरू बिचल्लीमा पर्ने गरेको विषय चौतर्फी उठान भएपछि सरकारले तत्कालका लागि भिजिटमा दुबई जाने व्यवस्था बन्द गरिदियो । ११ माघमै ‘भिजिट भिसा’ प्रयोग गरी दुबईलगायत खाडी मुलुकमा गई भोग्नु परेका कठिनाई र समस्या समाधानका लागि गठित समितिले गृह मन्त्री बालकृष्ण खाँणलाई ५१ पृष्ठ लामो प्रतिवेदन बुझाउँदै भिजिट भिसासम्बन्धी अहिलेको प्रावधानलाई कडा पार्नुपर्ने र महिलाको हकमा थप सर्त समावेश गरेर “भिजिट भिसा कार्यविधिरनिर्देशिका” ल्याउन सुझाव दिएको छ । समितिले दिएको सुझावलाई कार्यान्वयन गर्नेबारे छलफल भइरहेको गृहमन्त्रालयका एक अधिकारीले बताए ।

श्रममन्त्री श्रेष्ठले दुबई भ्रमणका क्रममा त्यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै रोजगारीको प्रलोभनमा नेपालीलाई युएई ल्याउनेलाई कारबाही गर्ने चेतावनी दिएका थिए । ‘गैरकानुनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा पनि जोगिदैनन्,’ मन्त्री श्रेष्ठले भने, ‘उनले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरेर भएपनि दलाललाई यहाँबाट खोजी खोजी नेपाल लगेर कारवाही गर्छौं ।’

तर दुबईमा मानवतस्करीको जालो डरलाग्दो रूपमा रहेको छ । एक(दुईपटक पहल गर्दैमा मानवतस्करीको जालो खतम नहुने दुबईमै बसेर लामो समयसम्म श्रमिक हितमा कलम चलाइरहेका मेघराज सापकोटा बताउँछन् ।

‘नेपालबाट आउने हाइप्रोफाइल ९मन्त्रीरसचिव० व्यक्तिलाई एयरपोर्टसम्मै पुगेर खादा माला ओढाउनेमा मानव तस्करीकै आरोप लागेकाहरू अगाडि छन्,’ सापकोटाले भने, ‘समाजसेवी पनि उनीहरू नै कहलिएका छन् । विभिन्न संस्थाका प्रमुख पनि उनीहरू नै छन् । उच्च राजनीतिक पहुँचलाई प्रयोग गरेरै नेपालीहरूलाई दुख दिएकाहरू यहाँ छन् ।’

सापकोटाको भनाईमा प्रसस्त आधार किन पनि छ भने केही दिनअघि श्रममन्त्री श्रेष्ठको युएई भ्रमणताका अष्ट्रेलिया पठाउने भनेर पैसा असुल गरेका रमेश श्रेष्ठ धेरैपटक मन्त्रीको अघिपछि देखिएका थिए ।

श्रोतः आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया दिनुहोस्