Logo
  बैशाख ८, २०८१ शनिबार

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ: राष्ट्रपति



काठमाडौँ, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिका-१९ यट्खा कुमारी मन्दिर परिसरमा निर्माण गरिएको जोशीको अर्धकदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले राजनीति जनतासँगको निरन्तर सानिध्यतासँगै उनीहरुको सुख, दु:ख बुझेर जनताकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्नेमा जोड दिए ।

“जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुको सुख, दु:ख बुझ्ने जोशी समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत व्यक्तित्व हुनुहुन्थ्यो”, उनले भने ।

राष्ट्रपति पौडेलले जोशीको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीतिक सङ्गठन, जोशी परिवार र आफ्नो लागि अपूरणीय क्षति भएको बताए ।

उनले जोशीको निष्ठा, प्रगतिशील दृष्टिकोण र सही कुराको पक्षमा दृढ रहने अडानका कारण होनहार नेताका रुपमा स्थापित हुनुका साथै सरल, शालिन, मिलनसार, सहयोगी र कुशल राजनीतिज्ञको छवि बनाउन सफल हुनुभएको चर्चा गरेका थिए ।

राष्ट्रपति पौडेलले विभिन्न ओहोदा, पद र संस्थामा रहँदा आफ्नो चरित्रमा कतै दाग लाग्न नदिनुका साथै सदाचारिता र इमान्दारिता नै जोशीको विशेषता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्