Logo

विराट गोल्डकपको अन्तिम खेल विराटनगर सिटी र भारतबीच



विराटनगर , १५ चैत । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको अन्तिम चरणको खेल पाहुना टोली भारतको केरलास्थित लुका सकर क्लब तथा घरेलु टोली विराटनगर सिटी (बीसीएफ) बीच हुने भएको छ ।

शहीद रङ्गशालामा बिहीबार ६ः४५ बजे हुने भनिएको अन्तिम चरणको खेलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रोे पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।

विराटनगर पूर्वविजेता टोली नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले तथा सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसैगरी पहिलो पटक भाग लिएको केरलाले क्वाटरफाइनलमा सङ्कटा क्लबलाई ‘सडनडेथ’मा ८–७ गोलले र सेमिफाइनलमा साबिक विजेता विभागीय टोली एपीएफलाई ‘टाइब्रेकर’मा ४–२ गोलले पाखा लगाउँदै फाइनलका लागि स्थान पक्का गरेको थियो ।

साबिक विजेता एपीएफ र लिग खेल्दै आएको ‘ए’ डिभिजन सङ्कटाजस्तो सशक्त टोलीलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले लुका सकरका खेलाडीमा मनोबल उच्च देखिएको छ ।

घरेलु टोलीले तेस्रो पटक विराटनगरलाई प्रतियोगिताको उपाधि नजिक पु¥याएको हो । विराटनगर छ दशकपछि गोल्डकपको अन्तिम चरणमा पुग्न सफल भएको छ । यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपमा घरेलु टोली मोरङ–११ फाइनलमा पुगेर उपविजेता भएको आयोजकले जनाएको छ ।

त्यसबेलाको पहिलो उपाधि भारतको कलकत्ता गोल्डकपको विजेता बनेको थियो । विसं २०१९ मा मोरङ–११ ले उक्त उपाधि हात पारेकामा सातौँ संस्करणसम्म आइपुग्दा घरेलु टोली फाइनलमा पुगेको हो ।

विराटनगरमा बधुबार प्री-म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने भएका छन् । विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानेले यस गोल्डकपमा आफ्नो टोलीको लक्ष्य उपाधि जित्नु रहेको बताए ।

लुका सकर क्लबका प्रशिक्षक नभास नोकाले फाइनलभन्दा अगाडि जसरी हाम्रो खेलाडीले खेल खेलेका थिए त्यही अनुरुप अन्तिम चरणको खेल खेल्ने बताए । उनले नेपालकै प्रतिष्ठित उपाधि उचाल्न अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गरिने पनि जिकिर गरे ।

तत्कालीन राजा महेन्द्रको नामबाट २०१८ सालमा महेन्द्र गोल्डकपबाट सुरु गरिएको प्रतियोगिता पछिल्लो संस्करणका रूपमा २०५७ सालदेखि विराट गोल्डकपका रूपमा खेलाइँदै आइएको हो । कोशी प्रदेशकै सानका रूपमा रहेको गोल्डकप पञ्चायत कालमा २७ पटक र बहुदल आएपछि विराटगोल्डकपका नामबाट यो सातौँ प्रतियोगिता हुन लागेको हो ।

चैत १६ गतेसम्म सञ्चालन हुने रात्रिकालीन गोल्डकपमा नेपाल, भारत र भूटानका गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता हुने टोलीले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार पाउने प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए । उनले प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले सबैलाई जनही रु २५÷२५ हजार पुरस्कार रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्