Logo
  चैत्र १५, २०८० बिहीबार

आजदेखि चलचित्र ‘प्रेमा’ प्रदर्शन हुँदै



काठमाडौँ, १७ चैत । आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ ।

गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन् । धनगढीबाट आफ्नी दिदी भिनाजुको घरमामा आएकी प्रेमाले बस विसौनीमै आकाशलाई झगडा गर्दै गरेको देख्छिन् । प्रेमालाई आकाश गुण्डा झैँ लाग्छ । थुनामा पारेपछि मात्र प्रेमालाई आकाश निर्दोष रहेको थाहा हुन्छ ।

आफ्नो गल्तीलाई भुलाउँदै क्षमा मागेकी प्रेमा विस्तारै आकाशसँग नजिकिँदै प्रेममा पर्छिन् । यद्दपि भौगोलिकसँगै विचार र व्यवहारमा समेत फरक देखिएको सो जोडीको प्रेममा समस्या आउँछ । दुवै छुटिने बाटोमा पुगेपछि आकाश सडक दुर्घटनामा पर्छन् ।

निहारिकाको कारबाट भएको दुर्घटनाविरुद्ध आकाशले प्रहरीमा मुद्दा नहालेपछि दुवैको भेटघाट बढ्छ । आकाशको व्यक्तित्वले निहारिका आकर्षित भएपछि उनीसँग प्रेम बस्छ । यी दुवैको विवाह हुनै लाग्दा प्रेमा आइग्छिन् । त्यसपछि आउने आरोहअवरोहलाई चलचित्रमा देखाइएको छ ।

चलचित्रमा निर्देशक भण्डारीले भनेझैँ आफू प्रस्तुत भएको अभिनेत्री खड्काले बताइन् । “मलाई सुरूमा यसमा सुहाउँदैन कि भन्ने लागेको थियो । यद्दपि निर्देशकले भनेपछि विश्वस्त भए ।”, उनले भनिन्– “प्रेम र जीवनको फरक पाटोलाई प्रेमाले बुझाइन् । यो विसुद्ध प्रेमकथामा बनेको चलचित्र हो”,

अभिनेत्री खड्काझैँ अभिनेता क्षेत्रीको समेत यो दोस्रो चलचित्र हो । उनले यसमा निर्वाह गरेको भूमिका निर्देशककै अनुसार गरिएको बताए ।

“यसमा नयाँ र पुरानो दुवै पुस्ताको प्रतिनिधित्व गरिएको छ । आकाशमार्फत प्रेमको फरक पाटोलाई चित्रण गर्न खोजेका छौँ”, अभिनेता क्षेत्रीले भने, “प्रेम र आकाशको प्रेममा आउने आरोहअवरोहले अहिलेको पुस्ताको सम्बन्धमा आउने दरार र समाधान बुझाउँछ । यस्तो भूमिकामा देखिने मेरो चाहना पूरा भयो ।”

निर्देशक भण्डारीले भेटेको एक युवतीको भोगाइलाई ‘प्रेमा’मा मिसाएर चलचित्र लेखेको बताए । “मैले कतै प्रेमाजस्तै पात्र भेटेको थिए । अहिले प्रेममा स–साना कुराले पनि समस्या आउने गरेका छन् । यी सब क्षणिक हुन् । चलचित्र हेरेपछि त्यो थाहा हुन्छ”, उनले भने, “द्वन्द्वप्रधान चलचित्रमार्फत निर्देशकमा पाइला टेके । यसपछि प्रेमकथानक चलचित्र चार÷पाँच वर्षसम्म बनाउँदिन ।”

प्रेमाको छायाङ्कन काठमाडौँ, धनगढी र कर्णालीमा गरिएको हो । चलचित्रमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गरेका छन् । चलचित्र ‘प्रेमा’लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्