Logo
  बैशाख ८, २०८१ शनिबार

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तनि जना पक्राउ



काठमाडौँ, २९ वैशाख । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने बहानामा लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रसुवा घर भई काठमाडौँको वसुन्धारा बस्ने होमबहादुर तामाङ, माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने धुलिखेलका अञ्जन सिग्देल र सिङ्गापुर पठाइदिन्छु भनी ठगी गर्ने झापाका सिर्जन निरौलालाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

सिङ्गापुर पठाइदिन्छु भन्ने निरौलाले ओमनाथ मैनालीसहित १२ जनालाई प्रतिव्यक्ति रु १४ लाख लाग्ने भनी पैसा उठाएका थिए । उनले मासिक रु चार लाखसम्म तलब हुने भनी लोभ देखाएर रकम सङ्कलन गरेको खुलेको छ ।

पीडितहरूबाट रु ९५ लाख लिएर उनी फरार भएपछि पीडित प्रहरीमा आइपुगेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरी बिहिवार वैदेशिक रोजगार विभागमा बुझाएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

यता सिग्देललाई जडीबुटीबाट पक्राउ गरिएको र आजै थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । यस्तै तामाङलाई भने काठमाडौँको बसुन्धाराबाट पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्